काठमाडौं– सरकारले थारू कल्याणकारी सभासित वार्ता गर्न टोली गठन गरेको छ। गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठित वार्ता टोलीमा राजन भट्टराई र पूर्वसासद भगवती चौधरी सदस्य छन्।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता आजै सुरु हुने जानकारी दिए।
थारू कल्याणकारी सभाले केही दिनअघि सांसद रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघरमा दिएको धर्नास्थलमा पुगेर गृहमन्त्री थापाले माग सम्बोधन गर्ने आश्वासन दिएका थिए।
टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीको रिहाइ गर्न गृहमन्त्रीले धर्नास्थलमै पुगेर आश्वासन दिएको भन्दै उनको आलोचना भएको थियो।
२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा आठ जनाको ज्यान गरी भएको घटनामा अदालतले चौधरीलाई मुख्य अभियुक्त ठहर गरेको थियो।
अदालतको आदेशमा उनी अहिले कारागारमा छन्। चौधरी थुनामै रहेका बेला भएको निर्वाचनमा उनी संघीय प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।