धनुषा – हात्तीले आक्रमण गर्दा धनुषाको मिथिला नगरपालिका–७, खप्तरी टोलमा एकजनाको मृत्यु भएको छ।
आइतबार मध्यराति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा ८० वर्षीय पदमबहादुर खप्तरीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर राति नै पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारण भागदौड मच्चिएको थियो। गाउँ पसेका हात्तीले घरमा भएको चामललगायत अन्न खानुको साथै १० घरमा क्षति पुर्याएको छ ।
गाउँलेहरूले आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जंगलतिर गएको थियो।
गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ।
यस ठाउँमा बर्सेनि जंगली हात्तीले क्षति पुर्याउँदै आएको छ। रासस