पोखरा– बागलुङको बडीगाड गाउँपालिका–१० दर्लिङमा बर्सेनि फागु पूर्णिमाको दिन मेला लाग्छ। छिमेकी जिल्ला गुल्मी, प्युठान र पूर्वी रुकुमका युवाहरु समेत त्यो ठाउँमा होली खेल्न आउँछन्।
आइतबार पनि बिहानैदेखि दर्लिङमा चहलपहल सुरु भएको थियो। टाढाटाढाबाट युवाहरु आए, खानपिन गरे, होली खेले। युवाहरु जम्मा भएको ठाउँमा होहल्ला त हुन्छ नै।
दिनभर त्यस्तो ठूलो झडप भएको थिएन। साँझपख मदिराको मातसँगै युवा समूहबीच भनाभन सुरु भयो र भनाभन हात हालाहालमा परिणत भयो। झडप हुँदै गर्दा निसीखोला–७ का प्रकाश कुँवर त्यहीँ थिए। समाजसेवामा क्रियाशील, जसलाई जे परे पनि सहयोग गर्ने ३६ वर्षे कुँवरलाई छिमेकी गाउँलेहरु झगडा गरेको मन परेन।
केही साथीहरु लिएर भगडा भएको ठाउँमा पुगे, अनि सम्झाउन लागे, छुट्याउन लागे। मदिरा र रिसको झोंकमा भएकाहरु कसले भनेको मान्ने ? बरु उनीहरु उल्टै प्रकाशको टोलीमाथि जाइलागे। लखेटेर सय जनाभन्दा बढीको समूहले प्रकाशमाथि कुटपिट गर्यो, ढुंगामुढा गर्यो र तारेभीरबाट खसाइदियो।
सुन्दा र पढ्दा पनि आङ जिरिंग हुने घटना बागलुङको पश्चिमी भेगको हो। जुन बुर्तिबाङ बजारबाट ४० किलोमिटर पर छ। घाइते अवस्थामा भेटिएका ३६ वर्षे प्रकाश कुँवर र ३४ वर्षे दीपक परियारलाई शुभेच्छुकले उद्धार गरे पनि बचाउन भने सकेनन्। नजिकै अस्पताल पनि थिएन।
घाइते भेटिँदा आइतबार साँझ पनि परिसकेको थियो। इलाका प्रहरी कार्यालय बुर्तिबाङ इन्स्पेक्टरको कमान्डमा रहने भए पनि अहिले सईले काम चलाउँदै आएका छन्। जिल्लाले बुर्तिबाङबाट प्रहरी खटायो। प्रदेशको निर्देशनमा जिल्लाबाट समेत अर्को टोली घटनास्थलतर्फ मुभ भयो। प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का समेत उठाइसकेको छ। मृतक दुवैको शव बुर्तिबाङ अस्पताल पुर्याइएको छ।
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीका अनुसार घटना भएलगत्तै एसपी मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो।
मृतक कुँवर नेपाली कांग्रेस जिल्ला सदस्य हुन् भने परियार क्रियाशील सदस्य। घटनामा १०–१२ जना बेपत्ता भएको भनिए पनि रातिसम्म सबै सम्पर्कमा आइसकेका छन्। घटनामा संलग्नहरुको खोजी खार्य जारी रहेको र दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने एसपी पल्लीमगरले बताएका छन्।
घटना सुनियोजित हो : बागलुङ कांग्रेस
नेपाली कांग्रेस बागलुङले सोमबार बिहान विज्ञप्ति निकालेर बडिगाड घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ। घटनामा संलग्नलाई कारवाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग पार्टीले आग्रह गरेको छ।
जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले निकालेको विज्ञप्तिमा कांग्रेस जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक परियारमाथि सुनियोजित रुपमा सांघातिक हमाल गरी योजनाबद्ध रुपमा हत्या गरिएको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
घटनाको विषयमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएको भिडियो र तस्बिरले प्रमाण दिएको र सुनियोजित रुपमा आपराधिक मानसिकताबाट घटना प्रेरित भएको विज्ञप्तिमा उल्लेख छ। झडपमा घाइते भएका ज्ञानु दमाई लगायतका घाइतेहरुको उपचारमा सरकारले गर्नुपर्ने कांग्रेसको माग छ।