काठमाडौं - तराईका जिल्लामा हर्षोल्लासका साथ आज होली पर्व मनाइँदैछ।
एकआपसमा रङ, अबिर दलेर, शुभकामना साटासाट गर्दै तराईका जिल्लामा होली पर्व मनाइन्छ।
असत्यमाथि सत्यको विजय भएको उत्सवको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसमा भएका कटुतालाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व रमाइलो गरी मनाइन्छ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
हिजो काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा फागु पर्व मनाइएको थियो।