पोखरा - पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव २०७७ मा ‘न्यायको खोजी’ नाटक प्रथम भएको छ। विश्व रंगमञ्च दिवसको अवसरमा शनिबार पोखराका गन्धर्व नाटक घरमा उक्त नाटक मञ्चन गरिएको छ।
‘न्यायको खोजी’ले घरपरिवारबाटै न्याय नपाएपछि न्याय खोज्न निस्किएकी १५ वर्षीया सीताको कथा बोकेको छ। उक्त नाटक पोखरा बगरको भानुभक्त आवासीय माध्यमिक विद्यालयको कक्षा ९ की छात्रा अनुषा परियारले लेखन तथा निर्देशन गरेकी हुन्।
भानुभक्त आवासीय माविले हप्ताको प्रियड नाटक सिकाउँछ। २ वर्षदेखि सञ्चालित कक्षाले विद्यार्थी कलाकारितामा आकर्षित भएको विद्यालयका प्रधानध्यापक दिनेश लामिछानेले बताए। नियमित कक्षा लिएका विद्यार्थीमा कथा लेखन र निर्देशन गर्न सक्ने क्षमता विकास भएको उनले जानकारी दिए।
विद्यालयस्तरीय नाटक महोत्सवमा गण्डकी प्रदेशका मनाङबाहेक १० जिल्लाबाट ४० विद्यालय सहभागी थिए। जनप्रिय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको ‘लगानी’ नाटक द्वितीय भएको छ।
पर्वतको न्यु होराइजन माध्यमिक विद्यालयले तयार पारेको नाटक ‘अभाव’ तृतीय हुँदा तनहुँको सत्यवती माविले तयार पारेको ‘कोरोनाको शैक्षिक प्रभाव’ र बाराही मावि कास्कीले तयार पारेको ‘म पछाडिको मेरो सत्य’ ले सान्त्वना पाए।
प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, २५ हजार, १२ हजार ५ सय पाएका छन्। सान्त्वना हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे। पुरस्कृतलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रमाणपत्र र पुरस्कार प्रदान गरे।
मन्त्री गुरुङले विद्यार्थीले तयार पारेको नाटक अब्बल रहेको प्रतिक्रिया दिए। गण्डकी प्रदेश सरकारले कला क्षेत्रलाई आफ्नो स्थापनादेखि नै साथ दिइरहेको बताउँदै मन्त्री गुरुङले त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
महोत्सवमा उत्कृष्ट भएका ५ वटै नाटक शनिबार गन्धर्व नाटक घरमा मञ्चन गरिएको थियो। नेपाल संगीत नाट्य प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त, कलाकार प्रकाश घिमिरे, साहित्यकार प्रकट पंगेनी, कलाकार माओत्से गुरुङ लगायत नाटक हेर्न गन्धर्व नाटक घरमा जुटेका थिए। कोरोनाले थिएटर बन्द रहेको अब वैशाखबाट आफूहरू नयाँ नाटक लिएर आउने थिएटर सञ्चालक परिवर्तनले बताए।