विराटनगर– प्रदेश १ प्रदेश सभाको बैठक आह्वान गरिएको छ।
गत चैत १ गते अनिश्चितकालका लागि स्थगित बैठक चैत २३ गतेका लागि आह्वान गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए।
मुख्यमन्त्री शेरधन राईका विरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन एमाले नेपाल पक्ष तयार भएपछि प्रदेश सभाको बैठक बोलाइएको हो।
नेपाल पक्षका सांसद राजेन्द्र राईले प्रदेश सभाको चौथो बैठक आह्वान गरिएको मिति अगावै हस्ताक्षर फिर्ता लिने बताए। सामुहिक रुपमा फिर्ता लिने उनले बताए। गत बुधबार संसदीय दलको बैठकमा दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले सात दिन भित्र अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थि ।
माघ ७ गते हिउँदे अधिवेशन शुरु भएको थियो। मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव संसदमा पुस १२ गते पेश गरिएपनि फागुन ९ गते मात्र संसदमा टेवल भएको थियो।
प्रस्ताव टेवल भएपछि सरकार पक्षले संसद बैठक बहिस्कार गरेको थियो। प्रस्ताव टेवल भएपछि फागुन २० गतेका लागि आह्वान गरिएको बैठक फागुन १९ गते र चैत २ का लागि लागि आह्वान गरिएको बैठक चैत १ गते स्थगित गरिएको थियो।
एमालेको नेपाल पक्षले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री राईविरुद्ध तत्कालिन नेकपाको दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव असफल हुनेछ। प्रदेशसभाका ९३ सासदमध्ये नेकपा एमालेसँग ५१ जना सदस्य छन् ।