सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्यानमारको लोकतान्त्रिक आन्दोलनमा ऐक्यबद्धता जनाउन कांग्रेसको आह्वान

म्यानमारको लोकतान्त्रिक आन्दोलनमा ऐक्यबद्धता जनाउन कांग्रेसको आह्वान

नेपाली कांग्रेसले म्यानमारमा जारी लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

काठमाडौं- नेपाली कांग्रेसले म्यानमारमा जारी लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।

लोकतन्त्र बहालीका लागि जारी आन्दोलनमा सैनिक सरकार हिंस्रक दमनमा उत्रिएको भन्दै यसको विरोध गर्दै जनताको साथमा उभिन कांग्रेसले अपिल गरेको हो।

आइतबार दिउँसो प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापीरुपमा दबाब बढाउन आवश्यक देखिएको बताएका छन्।

‘म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ।’ शर्माले विज्ञप्तिमा भनेका छन्, ‘जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ सान सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रुपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको छ।’

विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउने नीति नेपाली कांग्रेसले लिँदै आएको विज्ञप्तिमा उल्लेख छ।

‘म्यानमारको पछिल्लो कु लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई हामी निरन्तर नियाली रहेका छौँ’ प्रवक्ता शर्माले भनेका छन्, ‘सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ।’

विज्ञप्तिमा भनिएको छ, ‘दमनविरुद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रुपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा एक्यवद्ध हुन नेपाली कांग्रेस सबै दल, संघसंस्था र सरकार समेतलाई अपील गर्दछ।’

म्यानमारमा सैनिक सरकारले लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि व्यापक दमन गर्दै आएको छ। शनिबारमात्रै त्यहाँ एक सयभन्दा धेरै प्रदर्शनकारी मारिएका छन्।

सैनिक सरकारले हिजो सशस्त्र दिवस मनाइरहँदा सर्वसाधारणमाथि व्यापक दमन गरेको हो। गत फेब्रुअरी १ मा सैनिक कु भएपछि हालसम्म त्यहाँ ४ सयभन्दा बढी सर्वसाधारण मारिएका छन्।

प्रकाशित: Mar 28, 2021| 10:45 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।