सुर्खेत- दैलेखमा रेडपाण्डा र चितुवाको छालासहित ८ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नौमुले गाउँपालिका-१ का कबिराम अधिकारी, नौमुल-२ का धनबहादुर पुरी, हस्तबहादुर थापा, नौमुले-३ का धनबहादुर मगर, दलबहादुर खत्री, नौमुले–४ का रोशन बस्नेत, भगवतिमाई गाउँपालिका-१ का गोविन्द थापा र भगवतीमाई-२ का धनबहादुर रावत छन्।
उनीहरूको साथबाट ४ थान रेडपाण्डा र एक चितुवाको छाला नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
नौमुले गाउँपालिका-२ बाट दैलेख बजारतर्फ वन्यजन्तु ओसारपसार भइरहेको सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार राति दैलेखको नारायण नगरपालिका-३ खुर्सानीबारीबाट पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई डिभिजन वन कार्यालय दैलेखमा बुझाइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले जनाए।