काठमाडौं- जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले नेकपाभित्रको आन्तरिक लडाईंले अहिलेको अवस्था आएको बताएका छन्।
बृहत् नागरिक आन्दोलनले गरेको कार्याक्रममा ठाकुरले नेपाकाभित्रको आन्तरिक लडाईंका कारण मुलुक संकटमा परेको बताए।
उनले अहिले नयाँ सरकार निर्माणमा जसपा मुख्य भूमिकामा छ भनिए पनि मुलुक संकटमा परेका बेला आफूहरुको खोजी भएको बताए।
उनले आफूहरुले उठाएको माग सम्बोधनका लागि जसले सम्झौता गर्छ उसलाई सहयोग गर्ने पनि स्पष्ट पारे।
ठाकुरले प्रधानमन्त्री केपी ओलीले आफूहरुको माग पुरा गरिदिने बताएको पनि जानकारी दिए। अहिलेको परिस्थितिप्रति कांग्रेस सभापति शेरबहादुर देउवा गम्भीर नभएको उनको आरोप छ।
कांग्रेसले सरकारको नेतृत्व पनि नचाहको र अविश्वासको प्रस्तावमा पनि जान नचाहेको उनले बताए।
ठाकुरले आफ्नो पार्टीका नेताहरु जेलमै रहेको बताउँदै आफूहरु आन्दोलनमै रहेको स्पष्ट पारे।
उनले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएपछि मात्रै आफूहरुले कता मत हाल्ने भन्नेबारे निर्णय गर्ने बताए।