बुटवल– लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक ६ महिनापछि आउँदो १८ गते बस्ने भएको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चैत १८ गते प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन सुरु गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशनका लागि सरकारले सिफारिस गरेको छ।
गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामकरण टुंगो लागेसँगै वर्षे अधिवेशन सकिएको थियो।
एउटा अधिवेशन अन्त्य भएको ६ महिनामा अर्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक व्यवस्था छ।
चैत २० गते ६ महिना पुग्ने भएकाले सरकारले १८ गते बैठक आह्वान गरेको हो।
अघिल्लो वर्ष हिउँदे अधिवेशन माघमै आह्वान भए पनि यो वर्ष मुलुकको केन्द्रीय राजनीतिमा आएको उतारचढावका कारण ढिलाइ भएको थियो।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले एउटा अधिवेशन अन्त्य भएको ६ महिनामा अर्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभा अधिवेशनको तयारी भएको जानकारी दिए।
प्रदेशसभाको सातौं अधिवेशनमा यसअघि पेस भएर पारित हुन बाँकी रहेका तीन विधेयकमाथि छलफल हुनेछ।
प्रदेश सरकारले छैटौं अधिवेशनमा पेस गरेका १० विधेयकमध्ये ५ विधेयक पारित भएको छ भने २ विधेयक बिषयगत समितिमा दफावार छलफल सकिएर सभामा पेस हुने क्रममा छ।
तीन वटा विधेयकमाथि भने छलफल हुन बाँकी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।