काठमाडौं- प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र महेश बस्नेतले जनता समाजवादी पार्टी जसपाका सांसद रेशम चौधरीलाई जेलमा गएर भेटेका छन्।
कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई बस्नेतले शुक्रबार बिहानै जेल पुगेर भेट गरेका हुन्।
पछिल्लो समय एमाले र जनता समाजवादी पार्टीबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
उनकै पार्टीका नेता बाबुराम भट्टराई र उपेन्द्र यादवले बर्तमान सरकारमा सामेल भएर केपी ओलीसँग सहकार्य गर्न हुदैन भनिरहेका बेला सजपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरुले बालुवाटारसँग अन्तिम सहमति गर्न लागेको बताइएको छ।
बाबुराम भट्टराई र उपेन्द्र यादवले रेशम चौधरी केपी सरकारसँग सहमत छैनन् भनेर प्रचार गरिरहेको बेला यसैहप्ता जसपा नेता महतो र सरकारका एक शक्तिशाली मन्त्रीले समेत चौधरीलाई भेटेको खबर सार्वजनिक भएको थियो।
बिहीबार गृहमन्त्री राम बहादुर थापाले थारु कल्याणकारी सभाले गरेको रेशम चौधरीको रिहाइको आन्दोलनमा सहभागी भएर प्रतिबद्धता जनाउनु तथा रेशम चौधरीले पार्टीको निर्णय मान्ने र सरकारमा सहभागी हुने संकेत गरेर वक्तव्य दिनुलाई नयाँ सरकारका लागि जसपासँग एमालेको हिमचिम बढेको छ भन्ने पुष्टि गरेको छ।
साथै पूर्व मन्त्रीसमेत रहेका महेश बस्नेत गृह मन्त्रालय, सरकारी वकिलसँग आवश्यक परामर्श लिई हिजोको क्याबिनेटले मुद्दालाई सहज ढंङ्गले अगाडि बडाउन प्रक्रिया थालनी गरेको सन्देश पुर्याउन जेलमै गएको अनुमान गरिएको छ। एमाले र जसपबीच भएको बार्ता सहमतिनजिक पुगेको कारण रेशम लगायतको मुद्दा टुङ्ग्याउन सरकारले सकारात्मक पहल लिएको सन्देश दिएको हो।