काठमाडौं– काठमाडौं उपत्यका केही दिनदेखि धुवाँले छोपिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष, मकवानपुरका केही जंगलमा आगलागी हुँदा काठमाडौं र आसपासको क्षेत्र धुवाँले ढाकेको हो।
जल तथा मौसम विज्ञान विभागका नायब महाप्रबन्धक डा. जगदीश्वर कर्माचार्य तराईमा लागेको आगोको धुवाँ हावाले उत्तररतिर बहाउँदा काठमाडौं आसपास प्रदूषण बढेको बताउँछन्।
‘हावाको बहावसँगै धुवाँ बग्छ,’ उनले भने, ‘यतिबेला देशका विभिन्न भागमा आगलागी भएकोले वायु प्रदूषण बढेको छ।’ देशका विभिन्न जिल्लामा आगलागी भएको छ।
ठूलो हुरी आउँदा वा पानी परेचाहिँ प्रदूषण घट्ने उनको भनाइ छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी फायर इन्फर्मेसन फर रिसोर्स म्यानेजमेन्ट सिस्टमले खिचेको स्याटेलाइट तस्बिरमा चितवन, पर्सा, बर्दिया, सुर्खेतलगायत केही पहाडी क्षेत्रमा समेत आगलागी भएको देखिएको छ।
नासाकै तस्बिरमा काठमाडौं आसपास निलो धुँवा देखिएको छ।