सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाल समूहले एमालेमै रहेर संघर्ष गर्ने, संसदीय दलको बैठकमा सहभागी हुने

माधव नेपाल समूहले एमालेमै रहेर संघर्ष गर्ने, संसदीय दलको बैठकमा सहभागी हुने

नेकपा (एमाले)को माधव नेपाल–झलनाथ खनाल समूह पार्टी अध्यक्ष केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं– नेकपा (एमाले)को माधव नेपाल–झलनाथ खनाल समूह पार्टी अध्यक्ष केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ।

उक्त समूहको केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा भाग लिएर आफ्ना कुरा राख्ने निर्णय गरेको केन्द्रीय सदस्य रघुजी पन्तले जानकारी दिए।

‘पार्टीभित्रै बसेर पार्टीलाई शुद्ध, गतिशील तथा विधि र पद्धतिमा चलाउन दबाब दिने निर्णय हामीले गरेका छौं,’ पन्तले भने। अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिने र पार्टी एकता कायम गर्न दृढतापूर्वक उभिने पनि उक्त समूहले निर्णय गरेको छ। संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा सहभागी हुने निर्णय भएको बताइएको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आज संसदीय दलको बैठक बोलाएका छन्। बैठक ओलीको निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने तय भएको छ।

नेपाल समूहको बैठकमा काठमाडौंमा उपलब्ध करिब ६० जना केन्द्रीय सदस्य सहभागी थिए। बैठकले दुई वर्षअघिकै अवस्थामा पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बस्नुपर्ने माग गरेको छ।

उक्त समूहका केन्द्रीय सदस्यहरुको छलफलले अदालतको फैसलाबमोजिम ०७५ जेठ २ को अवस्थामा पार्टीका बैठकहरु बस्नुपर्ने माग अध्यक्ष केपी ओलीसँग गर्ने निर्णय गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए। 

केही समयअघि अध्यक्ष ओलीले समानान्तर गतिविधि नगर्न चेतावनी दिँदै वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण सोधेका थिए। चारै नेताले ओलीलाई स्पष्टीकरण लेख्दै उल्टै आरोप पेस गरेका छन्। 

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा (एमाले) र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि एमालेभित्र किचलो बढेको छ। अदालतको फैसलापछि फागुन २३ गते एमाले अध्यक्ष केपी ओलीले आफ्नो निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको जिम्मेवारी खोस्नुका साथै केन्द्रीय सदस्य थपेका थिए।

उक्त बैठकलाई अवैध भन्दै आएको माधव–झलनाथ समूहले निर्णय फिर्ता हुनुपर्ने माग गर्दै आएको छ। बैठकमा सो समूहका केन्द्रीय सदस्य सहभागी थिएनन्।

प्रकाशित: Mar 26, 2021| 09:11 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।