काठमाडौं– नेकपा (एमाले)को माधव नेपाल समूहले दुई वर्षअघिकै अवस्थामा पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बस्नुपर्ने माग गरेको छ।
उक्त समूहका केन्द्रीय सदस्यहरुको छलफलले अदालतको फैसलाबमोजिम ०७५ जेठ २ को अवस्थामा पार्टीका बैठकहरु बस्नुपर्ने माग अध्यक्ष केपी ओलीसँग गर्ने निर्णय गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए।
अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिने र पार्टी एकता कायम गर्न दृढतापूर्वक उभिने पनि उक्त समूहले निर्णय गरेको छ।
केही समयअघि अध्यक्ष ओलीले समानान्तर गतिविधि नगर्न चेतावनी दिँदै वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण सोधेका थिए। चारै नेताले ओलीलाई स्पष्टीकरण लेख्दै उल्टै आरोप पेस गरेका छन्।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा (एमाले) र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि एमालेभित्र किचलो बढेको छ। अदालतको फैसलापछि फागुन २३ गते एमाले अध्यक्ष केपी ओलीले आफ्नो निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको जिम्मेवारी खोस्नुका साथै केन्द्रीय सदस्य थपेका थिए।
उक्त बैठकलाई अवैध भन्दै आएको माधव–झलनाथ समूहले निर्णय फिर्ता हुनुपर्ने माग गर्दै आएको छ। बैठकमा सो समूहका केन्द्रीय सदस्य सहभागी थिएनन्।