सोमबार, भदौ १५, २०८३

यसरी गरिन्छ मार्सी धानको खेती

जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्येकाे एक मार्सीकाे खेती सुरु भएको छ। 
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

जुम्ला –  जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्येकाे एक मार्सीकाे खेती सुरु भएको छ।

नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालीमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ। 

यहाँका किसानले मार्सी धानको बीउ राखेका छन्।

धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको सुरुआतीका रूपमा लिने गरेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताए। 

उनले भने, ‘यहाँको चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका देवतालाई र आ–आफ्ना कूल देवतालाई सम्झेर बीउ राख्ने परम्परा छ।’ 

विश्वकै उच्च स्थानमा उत्पादन हुने कालीमार्सी जिल्लाको पातारासी गाउँपालिकास्थित छुम चौरज्युलोमा सबैभन्दा बढी खेती हुने गरेको स्थानीयवासी पाण्डेले बताए। 

हरेक वर्ष चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाइन्छ र १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ। 

हरेक वर्ष चैत २० गते कर्णालीका केही जिल्लामा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्ना छर्ने गरिन्छ। 

चैत १२ गतेलाई यहाँको परम्परागत चलनअनुसार ‘बारुवा’ पनि भनिने गरेको चन्दननाथ नगरपालिका–१० का स्थानीयवासी विष्णु भण्डारीले बताए। 

तिला गाउँपालिका–१ स्थानीयवासी माने रावतका अनुसार चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ। 

मार्सी धान विभिन्न रोगको औषधिका रूपमा पनि प्रयोग गरिन्छ। 

यसको रातो भातको खीर निकै स्वादिलो हुन्छ। घरका सबै दिदिबहिनी एक आपसमा चिउरा कुट्ने चलन छ। 

यो चलन विस्तारै लोप हुँदै गरेको स्थानीयवासी रावतले बताए। 

जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले जानकारी दिए। 

खेतीको विधि

जिल्लाका आठवटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरेको छ। 

सो धान पाक्न सात महिना लाग्छ। १२ चैतमा बीउ भिजाएर १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने, १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ। 

वैशाख १ मा बेर्नाको पानी सुकाउने चलन छ। त्यसपछि बीउ हरियो हुन्छ। 

भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिङ्गर चालेर मलका रूपमा हालिन्छ।

एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ। जौँ काट्दै सँगसँगै रोपाइँ गरिन्छ।

जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन।

नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ सुरु हुन्छ। असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्छ। 

भदौमा झारजंगल काट्नु पर्छ। कीराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर हाल्ने गरिन्छ। 

खेतमा पानी भने खाली गर्नु हुँदैन। पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो तर अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिन्छ। 

मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक नै लेखेको खस भाषाविज्ञ रमानन्द आचार्यले बताए। 

नेपालमा असार १५ गते धान दिवस मनाउने गरिएता पनि कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लालाई हरेक वर्ष चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने गरेको छ। रासस

प्रकाशित: Mar 26, 2021| 07:34 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।