विराटनगर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन्।
मन्त्रिपरिषद् तेस्रोपटक पुनर्गठन हुन लागेको हो।
मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्रीमा टंक आङ्बुहाङ, सामाजिक विकास मन्त्रीमा उषाकला राई, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा राजकुमार ओझा, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा कला घलेलाई नियुक्त गरेका छन्।
यसअघि राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ र रामबहादुर रानामगरलाई मन्त्री बनाइएको छ।
गुरुङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र मगर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री थिए। नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ दिउँसो १ बजे हुने स्रोतले बताएको छ।
नवनियुक्त मन्त्रीहरूमा माओवादी छाडेर एमाले प्रवेश गरेका र एमालेमा गुट परिवर्तन गरेकाहरू छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रदेश १ मा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले पुस १२ गते राजीनामा दिएर आन्दोलनमा गएका थिए।
आर्थिक मामिलाबाट ईन्द्र आङ्वोलाई पुस ११ गते मुख्यमन्त्री राईले बर्खास्त गरेका थिए।