कास्की - कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ। गाउँपालिका कार्यालय रहेको वडा नम्बर ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए।
गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि सुरुमा तीनजनामा संक्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट ट्रेसिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा संक्रमण पुष्टि भएको बताइन्छ।
संक्रमितहरू भ्रमणमा गएका र उनीहरूका परिवारका सदस्य रहेका छन्। कार्यालयबाट सेवा प्रवाह गर्दा संक्रमण अझ बढ्न सक्ने अवस्था रहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा बन्द गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।
सभा, समारोह र भेला नगर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय कास्कीले पछिल्लो समय भारतलगायत छिमेकी देशमा फैलिरहेको कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अनावश्यक सभा समारोह, सम्मेलन र भेला आयोजना नगर्न आग्रह गरेको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकपछि प्रशासनले साँझ सूचना जारी गरी कोभिड–१९ नेपालमा पनि बढ्नसक्ने भएकाले सोको नियन्त्रणका लागि विभिन्न छ बुँदे निर्देशन जारी गरेको छ।
प्रशासनले नजिकँदै गरेको होलीपर्वलगायत चाडपर्व मनाउँदा र अत्यावश्यकबाहेक गोष्ठी, भेला, कार्यक्रम गर्दा भीडभाड नगरी अनिवार्य जनस्वास्थ्यको पालना गर्न आग्रह गरिएको छ।
यसैगरी क्वारेन्टिन तथा आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, सरकारी तथा गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठान, होटल, रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थामा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउने र सुरक्षित तवरले सेवा प्रवाह मिलाउन आग्रह गरिएको छ ।
मास्कको अनिवार्य प्रयोग, स्यानिटाइजर, भौतिक दूरी कायम गर्न आग्रह गर्दै प्रशासनले होटल रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा समेत तोकिएको मापदण्डको पालना गर्न भनिएको छ। प्रशासनको आग्रहलाई अवज्ञा गर्ने गराउने व्यक्तिलाई संक्रमक रोग ऐन, २०२० तथा प्रचलित कानूनबमोजिम कारवाही हुने प्रशासनले जनाएको छ। रासस