काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ।
आज बिहीबार दिउँसो पूर्व माओवादी पत्रकार चन्द्रलाल श्रेष्ठको निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता भएको स्रोतले बताएको छ।
श्रेष्ठकी श्रीमती पार्वती थापा माधव नेपाल पक्षकी एमाले केन्द्रीय सदस्य हुन्। भेटमा नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए।
दिउँसो ३ बजेदेखि साढे ४ बजेसम्म उनीहरुबीच कुराकानी भएको बताइएको छ। भेटलगत्तै प्रचण्ड सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा आन्तरिक छलफलमा जुटेका छन्।
सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध दाहाल शुक्रबार न्यायिक पुनरवलोकनमा जाने तयारीमा रहेको बताइएको छ। त्यसको पूर्वसन्ध्यामा उनले एमाले नेता नेपालसँग भेट गरेका हुन्।