काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले टीकापुर घटनाको बारेमा सरकारले वार्ता टोली बनाएर छिट्टै निकास निकाल्ने आश्वासन दिएका छन्।
थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समितिले माइतीघरमा जारी राखेको धर्ना कार्यक्रममा पुगेका गृहमन्त्री थापाले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न सरकारले आज नै नै टोली बनाउने जानकारी दिए।
‘समस्याहरु छिट्टै संवाद र वार्ताबाट हल गर्ने भन्ने हो। आजै क्याबिनेटमा कुरा राखी वार्ता टोली गठन गर्छौं र यसलाई निष्कर्षमा लगेर हल गर्छौं,’ उनले भने।
गृहमन्त्री थापाले आन्दोलनरत पक्षलाई धर्ना रोकेर वार्ता टोली गठन गर्न पनि आग्रह गरे। ‘तपाईंहरुको आन्दोलनलाई वार्ताकै रुपमा लैजान सकिन्छ। त्यसको लागि तपाईंहरु वार्ता टोली गठन गर्नतिर लाग्नुस्,’ उनले भने।
गृहमन्त्री थापाले दुवै पक्षको वार्ता टोली बसेर समस्याको समाधान गरिने बताए। टीकापुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशम चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने जस्ता १९ बुँदे माग राखी केही दिनदेखि आन्दोलनरत पक्षले माइतीघर मण्डलामा धर्नामा दिइरहेका छन्।
गत पुस पहिलो साता टीकापुर घटनामा संलग्न रेशम चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो। चौधरी अहिले जेलमा छन्।
०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो। सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो।
अहिले जनता समाजवादी पार्टीले सत्ता सहकार्यका लागि यही विषयलाई प्रमुख रुपमा उठाइरहेको छ।