बुटवल- छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणको दर बढ्न थालेपछि लुम्बिनी प्रदेशका सीमा क्षेत्रमा सुरक्षा सर्तकता अपनाइएको छ।
प्रदेशका विभिन्न जिल्लामा रहेका नाकाहरुमा निगरानी बढाउँदै स्वास्थ्य सावधानी अपनाइएको प्रशासनले जनाएको छ।
रुपन्देहीको बेलहिया, नवलपरासीको महेशपुर, कपिलवस्तुको कृष्णनगर, दाङको कोइलाबास, बाँकेको जमुनियाँ नाकामा स्वास्थ्य चेकजाँच गरी सर्तकता अपनाउन थालेको प्रशासनको दाबी छ। तर, सीमा क्षेत्रमा भने सावधानी निकै कम अपनाइएको छ। भारतबाट आएकाहरुको सामान्य चेकजाँच गर्ने गरिएको छ।
सरकारले समेत जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन निर्देशन दिएसँगै प्रमुख नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ।
रुपन्देहीमा सोमबार हेल्थ डेस्क स्थापना गरेर निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए। उनका अनुसार स्वास्थ्य चेकजाँचसँगै नेपालतर्फबाट भारतमा किनबेचका लागि जान रोक लगाइएको छ। भारतमा कोरोना संक्रमण बढेकाले त्यताबाट आउनेहरुलाई विशेष निगरानी अपनाउँदै स्वास्थ्य चेकजाँच गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
‘नागरिकलाई समेत सचेत रहन भनेका छौँ, सीमामा हेल्थडेस्क स्थापना गरेर सतर्कता अपनाइएको छ’ उनले भने।
भारतमा रोजगारी तथा अध्ययनमा रहेकाहरु बेलहिया नाका हुँदै फर्कने गरेका छन्।
दैनिक २०० देखि ३०० सम्म बेलहियाबाट आवतजावत भइरहेको बेलहिया प्रहरी कार्यालयले जनाएको छ। नाकाबाट ढुवानीका सवारी साधन भने निर्वाध रुपमा आइरहेका छन्।
कोरोना संक्रमितको मृत्यु
करिब ३ महिनादेखि कोरोना संक्रमणबारे चर्चा नै हुन छाडेको थियो। तर, भारतमा कोरोना संक्रमण वृद्धिसँगै नेपालमा पनि यसको चर्चा सुरु भएको हो।
लामो समयसम्म कोरोनाका कारण मृत्युको खबर नसुनेको बेला लुम्बिनी प्रदेशमा भने पुस ८ गते १ जनाको मृत्यू भएको छ।
बुटवलस्थित कोभिड अस्पतालमा अर्घाखाँची शितगंगा १० बर्रेका ८५ वर्षीय शोभाखर भण्डारी मृत्यु भएको हो। कोभिड १९ विरुद्धको खोप लगाएपछि बिरामी परेको परिवारजनले बताएका छन्।
बुटवल धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा करिब दुई हप्तासम्म बिरामी शून्य नै थिए। तर, दुई हप्तायता भने कोरोना संक्रमित उपचारका लागि भर्ना हुने क्रम बढ्न थालेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनका अनुसार अहिले ६ जना उपचाररत छन्।
लुम्बिनी प्रदेशमा अहिले १०३ जना कोरोना संक्रमित उपचारमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
लुम्बिनीका १२ जिल्लामा हालसम्म कोरोका कारण ४०९ जनाको मृत्यु भएको छ। लुम्बिनीमा २७ हजार ५४५ जनामा कोरोना पुष्टि भएको छ। यो प्रदेशमा २ लाख ८ हजार ५८७ जनाले कोरोना खोप लगाएको प्रदेश सरकारले जनाएको छ।