शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाली उद्योगीहरु पाकिस्तानसँग सम्बन्ध विस्तार गर्न इच्छुक

नेपाली उद्योगीहरु पाकिस्तानसँग सम्बन्ध विस्तार गर्न इच्छुक

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ।

चेम्बर भवन कान्तिपथमा बुधबार भएको भेटमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ।

छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका खेलेको जानकारी गराए। 

उनले नेपाली उद्योगी व्यवसायीहरू पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताउँदै नेपालमा लगानी गर्न आग्रह गरे। नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, खानीलगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न उनले राजदूत शाहलाई आग्रह गरे।

चीनले नेपाललाई ८ हजार बस्तुहरुमा दिएको भन्सार सुविधाका कारण पनि नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उनले जानकारी गराए। अध्यक्ष श्रेष्ठले व्यवसायिक वातावरण विस्तारका लागि नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स-सेलर्स मिट’ गर्न आग्रह गरे। 

नेपालका लागि पाकिस्तानका राजदूत शाहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको जानकारी दिँदै चेम्बरजस्ता निजी क्षेत्रका संस्थाहरुले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने बताए।

पाकिस्तानी राजदूतले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रहरुबारे चासो व्यक्त गरेका थिए। चेम्बर पदाधिकारी र राजदूतबीच दुई देशका बीचमा रहेका व्यापारिक कठिनाइका बारेमा पनि विवेचना भएको छ।

प्रकाशित: Mar 25, 2021| 10:03 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्