बुटवल- गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ५, साविक आँपचौर गाविसको खर्बाङ गाउँमा बुधबार राति आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ।
प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार जलेर सातवटै घरगोठ नष्ट भएको हो। तर त्यहाँ भने मानिसहरु नबस्ने भएकाले कुनै मानवीय क्षति भएको छैन।
झण्डै २० वर्ष अघिदेखि त्यहाँबाट बसाइसराई गरेपछि अहिले त्यो गाउँमा प्राय रित्तै थियो। जंगलबाट अचानक आगो जीर्ण अवस्थामा रहेका घरमा सल्किएको प्रहरीले जनाएको छ।
बसाइसराई गरेर छाडेको अनम बहादुर सार्कीको घर जलेर नष्ट भएको छ। त्यस्तै बलबहादुर बिक, बेदबहादुर सार्की, देवाने परियार, कशरे भट्टराई, पदमपाणी परियारको घर गोठ जलेर नष्ट भएको हो।
मुसिकोट नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष भागिरथ खरेलले २०५४ सालको निर्वाचनमा त्यस खर्बाङ गाउँमा २२६ घरधुरी बसोबास रहेको जानकारी दिए।
वडाध्यक्ष खरेलका अनुसार खेतीपातीका लागि उर्बर भूमि त्यस गाउँमा विद्यालय र मोटर बाटो सुविधाको अभावमा बसाइसराईले गाउँका रित्तिएको हो।
यस्तै बुधबार राति नै कालिगण्डकी गाउँपालिका वडा नम्वर २ भल्कोटमा ४ घर आगलागीबाट जलेर नष्ट भएका छन्।