सुर्खेत– जाजरकोटको भेरी नगरपालिकाले आमाहरुलाई पोषण आहार अर्थात् सर्वाेत्तम पिठो उत्पादन तालिम दिन थालेको छ।
‘महिलासँग उप–प्रमुख कार्यक्रम’ अन्तर्गत हरेक वडाका आमाहरुलाई तालिम दिन सुरु गरिएको हो। जसअन्तर्गत पहिलो चरणमा वडा नम्बर १० र १३ का रहेका २१ जना आमाहरुलाई तालिम दिइएको छ।
तालिमपश्चात् आमाहरुले भटमास, मकै, चना, चामल र मकै मिसाएर भान्सामै पौष्टिक आहारा उत्पादन गर्नेछन्। आमाहरुले घरमै सर्वाेत्तम पिठो उत्पादन गर्दा बालबालिकामा हुने कुपोषण हट्ने र आमाहरुलाई आत्मनिर्भर बन्न सहयोग मिल्ने अपेक्षा गरिएको छ।
आमाहरुले व्यावसायिक रुपमा उत्पादन गरेको सर्वाेत्तम पिठोको मूल्य १०० देखि १५० रुपैयाँ प्रतिकिलो नगरपालिकाले तोकिदिएको छ।
बालबालिकामा हुने कुपोषण हटाउने र आमाहरुलाई आत्मनिभर बनाउने उद्देश्यले आमाहरुलाई पोषण आहारा उत्पादन तालिम दिइएको उपप्रमुख भावना भण्डारीले जानकारी दिइन्।
नगरस्वास्थ्य शाखाका स्वास्थ्य सहायक यज्ञ गौतमलगायतको टोलीले शुक्रबारदेखि वडा–वडामा पुगेर पौष्टिक आहारा उत्पादन तालिम दिन थालेका हुन्।