काठमाडौं– इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।
४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर फर्किएका उनले जिल्ला प्रशासन कार्यालय इलामबाट बिहीबार नागरिकता लिएका हुन्।
दुर्गाप्रसादलाई प्रशासकीय अधिकृत देवीचरण फुएँलले ०३–०१–७७ –०३२५१ नम्बर भएको नागरिकता प्रदान गरे। सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले नागरिकता हस्तान्तरण गरेका थिए।
उनको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ।
दुर्गाप्रसादको इलामको एकातप्पा गाविसको दोकानडाँडामा २०१७ साल साउन २० गते जन्म भएको हो। उनले नागरिकता पाउँदा आफू खुसी भएको बताए।
०३७ सालदेखि घरबाट बेपत्ता भएका उनी बिनासुनुवाइ ४० वर्ष भारतको जेलमा बसेर आइतबार फर्किएका थिए। व्यक्ति हत्या अभियोगमा उनलाई भारतको जेलमा राखिएको थियो।
२० वर्षको उमेरमा घरबाट हिँडेका उनी घर फर्किंदा मानसिक रुपमा बिरामी भएर फर्किएका छन्। चिकित्सकले दुर्गाप्रसादमा बालकले गर्ने व्यवहार मात्र रहेको बताएका छन्।
निकै थोरै बोल्ने, काम्दै बोल्ने गरेको दुर्गाप्रसादका भाइ गोपाल शर्माले बताए। जेलले औषधि नपठाएका कारण उनले औषधि सेवन गर्न पाएका छैनन्।
भारतको कोलकाता उच्च अदालतले तिम्सिनालाई गत बुधबार जेलबाट रिहा गर्न आदेश दिएको थियो। आदेशअनुसार उनी शनिबार बिहान कोलकाताको दमदम जेलबाट छुटेका थिए। उनको उपचार प्रदेश १ सरकारले गरिदिने भएको छ।