काठमाडौं– भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्यातमा रोक लगाएको छ।
बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड निर्यातमा रोक लगाएको हो।
केही सातायता कोरोना संक्रमितको संख्या बढेको र भ्याक्सिनको पनि माग बढेका कारण तत्कालका लागि भ्याक्सिन निर्यातमा रोक लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। घरेलु मागलाई प्राथमिकता दिन केही समयका लागि निर्यातमा रोक लगाइएको मन्त्रालयको भनाइ छ।
हिजो बुधबार एकै दिन त्यहाँ करिब ४७ हजार संक्रमित थपिए भने २७५ जनाको मृत्यु भयो।
भारतले विश्वका ७६ देशलाई ६ करोड डोज कोरोनाको भ्याक्सिन उपलब्ध गराएको छ।
नेपालले पनि भारतमै उत्पादित कोभिसिल्ड भ्याक्सिन प्रयोग गरिरहेको छ। आफ्नो देशमा भ्याक्सिन लगाउन सुरु गरेलगत्तै उसले नेपाललाई पनि १० लाख डोज खोप अनुदानमा दिएका थियो।