शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एम एन्ड एम रेमिटसँग कारोबार गरेका नेपाली कम्पनीमाथि राष्ट्र बैंकको निगरानी

एम एन्ड एम रेमिटसँग कारोबार गरेका नेपाली कम्पनीमाथि राष्ट्र बैंकको निगरानी

मौरिससस्थित एम एन्ड एम रेमिट कम्पनीसँग कारोबार गरेका नेपालका सबै कम्पनीहरुमाथि निगरानी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं– मौरिससस्थित एम एन्ड एम रेमिट कम्पनीसँग कारोबार गरेका नेपालका सबै कम्पनीहरुमाथि निगरानी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ।

बैंकका एक उच्च अधिकारीका अनुसार एम एन्ड एम रेमिटले शंकास्पद कारोबार गरेका कारण कम्पनीलाई नेपालमा कारोबार गर्न बन्देज लगाइको हो। नेपालका सो कम्पनीसँग कारोबार गर्ने अन्य रेमिट कम्पनी र बैंकहरुमाथि पनि राष्ट्र बैंकले निगरानी बढाएको उनले बताए।

लामो समयदेखि नै एम एन्ड एम रेमिटलाई राष्ट्र बैंकले नजिक रहेर निगरानी गरिरहेको थियो। सो कम्पनीसँग कारोबार भइरहेका ग्लोबल आइएमई बैंक (तत्कालीन जनता बैंक), सेन्चुरी बैंक, प्राइम बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक, एनआईसी एसिया, इजी लिंक सब मनी ट्रान्सफर, राम्रो रेमिट, संसारा रेमिटलगायत कम्पनीमाथि राष्ट्र बैंकले निगरानी बढाइरहेको ती अधिकारीले बताए।

‘नेपालका कम्पनीहरुले गरेको रेमिट्यान्स कारोबारबारे हामीले सुक्ष्म ढंगले निगरानी गरिरहेका छौं। सो रेमिटमार्फत नेपालमा पठाइएको रकमको पारदर्शिताबारेमा हामीलाई केही शंका लागेको छ,’ राष्ट्र बैंकका ती अधिकारीले भने।

सो रेमिटसँग कारोबार गरेका नेपाली कम्पनीहरुकै आग्रहमा राष्ट्र बैंकले नेपालमा कारोबार बन्द गराउने निर्णय गरेको हो। नेपालका कम्पनीहरुले कारोबारका लागि प्रि–पेमेन्ट गरेको रकम भने सो कम्पनीबाट उठाउन नै बाँकी छ। 

एम एन्ड एम कम्पनीले विश्वभरबाट कारोबार गर्न फाइनान्सियल सर्भिस कमिसनबाट अनुमति पाएको कम्पनीको वेबसाइटमा दाबी गरिएको छ। कम्पनीले भारत, बंगलादेश फिलिपिन्स, कतार, साउदी अबर, मलेसिया, युएईलगायत देशमा रहेका आफ्ना शाखाबाट नेपालमा रकम पठाउने गरेको थियो। 

कम्पनीले दाबी गरेअनुसार नेपालमा रहेका कम्पनीसँग कारोबार भएका नेपाली कम्पनीहरुले देशका २७५७ स्थानबाट रेमिट्यान्सको भुक्तानी दिने गरेको छ। संसारा रेमिटले भने एम एन्ड एम कम्पनीसँग हाल आफूहरुले कारोबार नगरेको दाबी गरेको छ। 

संसारा रेमिटका बजार निर्देशक सुरज क्षेत्रीले संसारा कम्पनी पहिले कतार बस्ने तुलसी ज्ञवालीको रहेको समयमा नै सो कम्पनीसँग कारोबार भएको हुनसक्ने तर अहिले भने कुनै कारोबार नभएको बताए।

तर संसारा रेमिटकै वेबसाइट संसारारेमिटडटकममा उल्लेख भएअनुसार सो रेमिटले कतार, साउदी अरब र युएईमा रहेको एम एन्ड एमसँग सम्झौता गरेर नेपालमा रेमिट्यान्स भित्र्याइरहेको छ। 

काराेबार शंकास्पद रहेकाे पाइएपछि एम एन्ड एम रेमिटमाथि प्रतिबन्ध

प्रकाशित: Mar 24, 2021| 10:16 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्