काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले शे–फोक्सुन्डो तालमा निःशुल्क वाईफाई सेवा सुरु गरेको छ। मुख्य पर्यटकीय स्थल शे फोक्सुण्डो ताल समुद्री सतहभन्दा करिब ३६६० मिटर उचाइमा छ।
निःशुल्क वाईफाई सेवा उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले सेवा शुभारम्भ गरेको वल्ड लिंकले जनाएको छ।
उद्घाटन समारोहमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने, ‘नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्त्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइबरको विकल्प छैन।’
उच्च गतिको इन्टरनेटका लागि वर्ल्डलिंकले डोल्पासम्म फाइबर विस्तार गर्न तयार रहेको अध्यक्ष अग्रवालले जानकारी दिए। उनका अनुसार सरकारले पूर्वाधार विकास विस्तार गर्नुपर्छ।
‘वर्ल्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको छ’, अध्यक्ष अग्रवालले भने, ‘अब हामी फाइबर जडानका लागि योजना तयार गर्छौं।’
कार्यक्रममा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल, शे फोक्सुन्डो गाउँपालिका वडा नं ८ का वडा प्रमुख निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्रबहादुर घर्तीलगायत उपस्थित थिए।