काठमाडौं– प्रतिनिधिसभा विघटन बदर भएको एक महिनासम्म पनि सत्ता समीकरणबारे तीन दल अनिर्णयको बन्दी बनेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समीकरणबारे छलफल भइरहे पनि कुनै निर्णयमा पुग्न नसकेका हुन्।
माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन।
कांग्रेस परिस्थिति परिपक्व भएपछि मात्रै सहकार्य गर्ने पक्षमा छ भने जसपाभित्र ओलीलाई समर्थन गर्ने वा नयाँ समीकरण बनाउने भन्ने विषयमा मतभेद छ। जसपाको एक समूह ओलीलाई समर्थन गर्ने पक्षमा छ भने अर्को पक्ष नयाँ समीकरण बनाउनुपर्ने अडानमा छ।
कांग्रेस र माओवादी केन्द्रका नेताहरू भने जसपाको निर्णयको पर्खाइमा रहेको बताउँछन्।
तर पछिल्लोपटक तीन दलबीच छलफल हुन छाडेको छ। यद्यपि तीनै दलका नेताहरू एकअर्काको निर्णयको पर्खाइमा रहेको बताउँछन्।
तीन दलबीच फागुन १२ गतेदेखि नै ओलीलाई हटाउने गरी नयाँ सत्ता समीकरणको प्रयास हुँदै आएको छ। यसबारे पार्टीभित्र र सामूहिक रूपमा पटकपटक छलफल भएका छन्।
प्रतिनिधिसभा विघटन बदर भएको भोलिपल्टै बूढानीलकण्ठ पुगेर तत्कालीन नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे। त्यही बीचमा नेकपाको केपी ओली समूहले पनि देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्यो। कांग्रेस नेकपाको दुवै समूहको तानातानमा थियो।
देउवाले कानुनी रूपमा नेकपा फुटिनसकेको र पार्टीमा सल्लाह नगरी केही भन्न नसक्ने जबाफ फर्काएका थिए। भोलिपल्टै बसेको कांग्रेस पदाधिकारी बैठकले पनि नेकपा कानुनी रूपमा नफुटी कसैसँग सहकार्य नगर्ने निष्कर्ष निकालेको थियो।
त्यही बीचमा दाहाल–नेपालले जसपाका नेताहरुसँग पनि छलफल गरे। जसपाका नेताहरुले दाहाल–नेपालसँग प्रश्न गरेका थिए– तपाईंहरुको पार्टी कुन हो?
सत्ता समीकरणका विषयमा छलफल गर्न फागुन २० मा फेरि कांग्रेस पदाधिकारी बैठक बस्यो। बैठकले परिस्थिति परिपक्व नबनेको निष्कर्ष निकालेको थियो।
फागुन २२ सम्म सत्ता समीकरणमा कांग्रेस निर्णायक देखिएको थियो। सर्वोच्च अदालतको २३ गतेको फैसलाले राजनीतिक अवस्था फेरियो।
ऋषि कट्टेल नेतृत्वको नेकपाले वैधता पायो भने एमाले र माओवादी केन्द्र ब्युँतिए। त्यसपछि सत्ता समीकरणमा जसपा निर्णायक बन्न पुगेको छ। तर अहिलेसम्म जसपाले संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन।
अहिले तीन दलले एकअर्काको निर्णय पर्खिरहेका छन्। कांग्रेस र माओवादी केन्द्रका नेताहरू जसपाको निर्णय पर्खिरहेको बताउँछन्। उसो त तीन दलबीच छुट्टाछुट्टै छलफल नभएको होइन।
फागुन २८ गते कांग्रेस र जसपाका नेताहरुबीच भएको छलफल सकारात्मक बनेको प्रतिक्रिया दुवै दलका नेताले दिएका थिए।
जसपाले त्यसपछि माओवादी केन्द्रसँग पनि छलफल गरेको थियो। जसपाभित्र ओलीलाई समर्थन गर्ने वा नयाँ समीकरण बनाउने भन्ने विषयमा मतभेद छ। त्यसैले तीन दलबीचको छलफल अघि बढ्न नसकेको हो। जसपाका नेताहरु प्रधानमन्त्री ओलीसँग भने निरन्तर छलफलमा छन्।
कांग्रेसको एउटै तर्क : परिस्थिति परिपक्व बनेको छैन
कांग्रेसले प्रतिनिधिसभा विघटन बदरपछि अहिलेसम्म एउटै तर्क गरिरहेको छ– सत्ता समीकरणका लागि परिस्थिति परिपक्व बनेको छैन। एमाले र माओवादी ब्युँतिनुअघिसम्म कांग्रेस नेताहरूबीच सरकारमा जाने, नजाने वा तत्काल चुनावमा जाने विषयमा फरकफरक मत थियो।
अहिले भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसमेत ओलीको विकल्प खोज्नुपर्ने र त्यसमा कांग्रेसले अग्रसरता देखाउनुपर्ने पक्षमा छ।
फागुन २८ मा भएको पौडेल समूहको भेलाले ओलीको विकल्प खोज्न सभापति देउवालाई आग्रह गरेको थियो। देउवा भने परिस्थिति परिपक्व नभई कांग्रेसले हतारमा निर्णय लिन नहुने पक्षमा छन्।
अवसर आयो भने पछि नहट्ने तर प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने उनको भनाइ छ। मंगलबार मात्रै उनले विराटनगर पुगेर आफू सत्तामा जाने तयारीमा नरहेको स्पष्ट पारेका छन्।
देउवा निकट नेता रमेश लेखक सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहे पनि त्यसका लागि परिस्थिति अनुकूल बनिनसकेको बताउँछन्।
‘वैकल्पिक सरकार दिनुपर्ने अवस्थामा कांग्रेस तयार छ। तर अहिले अवस्था परिपक्व भएको छैन,’ उनी भन्छन्।
परिस्थिति कहिले परिपक्व हुन्छ त? नेता डा. नारायण खड्का भन्छन्, ‘त्यसका लागि जसपाको निर्णय महत्त्वपूर्ण हुन्छ। अहिले सत्ता समीकरणमा जसपा निर्णायक छ। उसले निर्णय नलिँदा हामी पनि अनिर्णित बन्न पुगेका छौं।’
जसपालाई ओलीले लोभ्याइरहेको खड्का बताउँछन्। उनी भन्छन्, ‘जसपा त्यही ललिपपमा भुलिएको छ।’
प्रधानमन्त्री ओलीले जसपा नेताहरुलाई प्रधानमन्त्री बनाउने लोभ देखाएकाले उसले निर्णय लिन नसकेको खड्काको बुझाइ छ।
माओवादीले समर्थन फिर्ता लिँदा ओलीले एक महिनासम्म खेल्न सक्ने जोखिम रहेको उनी बताउँछन्। तीन दलबीच सहमतिको प्रयास भइरहेको उनको दाबी छ।
‘माओवादीले समर्थन फिर्ता लियो भने ओलीले खेल्न सक्छन्। समर्थन फिर्ता लिुनअघि नै सहमतिको प्रयास गर्नुपर्छ,’ खड्का भन्छन्, ‘ओलीलाई हटाउने सर्तमा जसपाकै नेता प्रधानमन्त्री बने पनि फरक पर्दैन।’
माओवादी केन्द्रको डर : ओलीले संसद् भंग गर्न सक्छन्
माओवादी केन्द्रले भने सरकारलाई दिएको समर्थन फिर्ता गरेमा ओलीले संसद् भंग गर्ने जोखिम देखेको छ।
सोही कारण समर्थन फिर्ता लिन नसकिएको माओवादीका नेता बताउँछन्।
प्रमुख सचेतक देव गुरूङ प्रधानमन्त्री ओली संसद् भंग भएर मुलुक निर्वाचनमा जाओस् भन्ने पक्षमा रहेकाले समर्थन फिर्ता नलिएको बताउँछन्।
‘राजनीतिक रूपमा त हामीले पुस ५ पछि नै प्रधानमन्त्रीको राजीनामा मागेका हौं’,’ गुरुङ भन्छन्, ‘कानुनी रुपमा समर्थन फिर्ताको टुंगो लागिसकेको छैन।’
उनले समर्थन फिर्ता लिने वा के गर्ने भन्ने विषयमा परामर्शमा रहेको बताए। यस विषयमा माओवादीले मंगलबार कानुनविद्हरूसँग परामर्श गरेको थियो।
‘हामीले समर्थन फिर्ता लिएपछि ओलीले ३० दिनभित्र विश्वासको मत पाउन सक्ने अवस्था भएन भने संसद्को भविष्य के हुन्छ’, गुरुङले भने, ‘त्यसैले हामी संविधान र सदनको रक्षा गर्नुपर्छ भन्ने पक्षमा छौं।’
जसपाले कांग्रेस र आफूहरुसँग मिलेर समीकरण बनाउने निर्णय गरेमा समर्थन फिर्ता लिने निर्णय गर्न सहज हुने आकलन माओवादीको छ।
जसपामा फुट निम्तिने डर
सत्ता समीकरणमा निर्णायक देखिएको जसपाभित्र विवाद चर्किएको छ। यसले पार्टी नै फुट्ने आशंकासमेत गर्न थालिएको छ।
२०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच एकीकरण भए पनि संसदीय दल फरकफरक थियो। पछिल्लो राजनीतिक घटनाक्रमकै बीच जसपाले संयुक्त संसदीय दलको बैठक बोलायो।
बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुरले सरकारसँग वार्ता गर्न दुई सदस्यीय कार्यदल बनाएको र प्रधानमन्त्रीतर्फबाट बनेको कार्यदलसँग छलफल भएको जानकारी दिए। उनले पार्टीमा सल्लाह नै नगरी कार्यदल बनाएको विषयमा विवाद भएको थियो।
जसपाभित्र नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो एमालेसँग सहकार्य गरेर अघि बढ्न खोजिरहेका छन्।
डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत नेता कांग्रेस र माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्ने पक्षमा देखिन्छन्।
यसबीचमा जसपाका नेताहरुले प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालसँग पटकपटक छलफल गरिसकेका छन्।
जसपाका नेता लक्ष्मणलाल कर्ण आफूहरु कसैलाई सत्तामा पुर्याउनकै लागि समर्थन नगर्ने बताउँछन्।
‘हाम्रो माग जसले सम्बोधन गर्छ, उसैलाई समर्थन गर्छौं,’ उनले भने, ‘अब विगतमा जस्तो आश्वासनमा मात्रै बसेर कसैलाई सहयोग गर्दैनौं।’
माग कार्यान्वयनका विषयमा सरकारसँग पनि वार्ता भइरहेको उनी बताउँछन्। उनले भने, ‘हाम्रो माग पूरा गर्ने ग्यारेन्टी भएपछि मात्रै निर्णयमा पुग्छौं।’
विश्लेषक भन्छन् : जसपाकै कारण सत्ता समीकरण बन्न सकेन
राजनीतिक विश्लेषकहरु पनि जसपाभित्रको दुई धार नै नयाँ समीकरणको बाधक बनेको बताउँछन्।
‘जसपाभित्र एकमत छैन। महन्थ ठाकुर, राजेन्द्र महतो लगायत ओलीजीसँगै सहकार्य गर्न खोजिरहनुभएको छ। बाबुराम, उपेन्द्रलगायतका नेता कांग्रेस, माओवादी र जसपा मिलेर सरकार बनाउने पक्षमा हुनुहुन्छ,’ राजनीतिक विश्लेषक डा. लोकराज बराल भन्छन्। आन्तरिक विवादकै कारण पार्टीले सत्ता समीकरणबारे निर्णय गर्न सकेको छैन। बराल भन्छन्, ‘जसपा अनिर्णयको बन्दी बन्नु नै मुख्य समस्या हो।’
माओवादी केन्द्र जसपाले निर्णय गरेपछि ओलीलाई दिएकाे समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर सरकार बनाउने पक्षमा देखिएको उनको बुझाइ छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीले फेरि संसद् विघटन गर्छन् भन्ने आशंका माओवादी केन्द्रमा देखिएको उनी बताउँछन्।
कांग्रेस दुई पार्टीले जे गर्छन् त्यसपछि निर्णय गर्ने भन्दै चुप लागेर बसेको उनले बताए।
अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने समीकरण बन्न नसक्नुको कारण जसपा मात्रै नभएको बताउँछन्। ओलीको विकल्प खोज्ने हो भने कांग्रेस र जसपाले तत्काल निर्णय लिइहाल्नुपर्ने उनी बताउँछन्।
उनी भन्छन्, ‘कांग्रेस पदाधिकारी बैठकले ओलीको विकल्प खोज्ने भनेको छ। जसपामा पनि उपेन्द्र यादवहरुले त्यसै भनेका छन्। महन्थ ठाकुरहरू त्यसमा असहमत छन्।'
यही विवादले जसपा विभाजन हुने संकेत देखिएको उनी बताउँछन्। श्रेष्ठ भन्छन्, ‘माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्नुमा कतै कांग्रेस, जसपा र एमालेको गठबन्धन बन्ने हो कि भन्ने डर पनि होला।’
श्रेष्ठ कांग्रेस र जसपाले निर्णय गर्नासाथ समीकरण सोझिने बताउँछन्। तर, नयाँ समीकरणका लागि देउवा तयार नभएको उनको भनाइ छ।
‘ओलीले देउवालाई कुनै लोभ देखाएका हुन सक्छन्,’ उनी भन्छन्, ‘त्यही लोभमा फसेर देउवाले ढिलाइ गरिरहेका छन्।