काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले दुई वर्षमा ५० जना स्टार्टअपहरुलाई लगानी जुटाउने भएको छ।
सोमबार पत्रकार सम्मेनल गर्दै महासंघले नवीनतम् सोचमा आधारित रहेर सञ्चालनमा रहेका ५० स्टार्टअप व्यवसायलाई ५० जना व्यवसायीहरुले आवश्यक लगानी गर्ने र त्यसको लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने जनाएको छ।
स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रन्जित आचार्यले २ वर्षको कार्यक्रम घोषणा गरेअनुसार ५० स्टार्टअपलाई लगानी जुटाउने मुख्य कार्य रहेको बताए।
महासंघले ५० जना स्टार्टअप व्यवसायीहरुको लागि चैत तेस्रो सातादेखि आवेदन खुला गर्ने र आवेदनलाई प्रतिस्पर्धा गराई ५० वटा स्टार्टअप छनोट गरिने जानकारी दिएको छ। छनौट भएका ५० स्टार्टअपलाई लगानी जुटाइनेछ।
आवेदनकर्ताहरुको स्टार्टअप उद्योग व्यवसाय कम्तीमा एक वर्ष सञ्चालनमा रहेको र अडिटसमेत भएको हुनुपर्ने सभापति आचार्यले जानकारी दिए।
आचार्यले पत्रकार सम्मेनलमा बोल्दै यसमा सबै क्षेत्रका नवीनतम् सोच भएका व्यवसायीहरुले आवेदन दिन सक्ने तर महासंघले भने आवश्यकताको आधारमा व्यवसाय छनोट गर्ने जानकारी दिए।
महासंघको प्राथमिकतामा भने कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवामा आधारित नवीनतम् सोचका व्यवसायलाई राखिएको छ। तर अन्य पनि प्रतिस्पर्धाबाट छनोट हुन सक्ने महासंघले जनाएको छ।
महासंघले तयार पारेको कार्य सूचीअनुसार मे महिनाको दोस्रो हप्ता आवेदनबाट पहिलो सूची तयार गरिनेछ। मेको अन्तिम हप्ता अन्तर्वार्ता र जुनको दोस्रो हप्ता छनोट भएका ५० स्टार्टअपको अन्तिम सूची निकालिने छ।
लगानीको लागि छनोट भएका स्टार्टअप वा व्यवसायहरु लागि उनीहरुको लगानीकर्तामाझ पुर्याउन तीन महिनाको मेन्टरसिप कार्यक्रममा समावेश गराइनेछ। उनीहरुलाई जुलाईदेखि तीन महिनाको लागि मेन्टरसिप उपलब्ध गराइने पनि महासंघले जनाएको छ।
त्यसरी मेन्टरसिप गराइएकाहरुलाई अक्टोबरको पहिलो हप्ता पिचिङको लागि समय दिइनेछ।
सो समयमा २० चर्चित व्यवसायीले प्रशिक्षण दिनेछन्। केन्द्रबाहेक जिल्लास्तरमा पनि स्टार्टअप उद्योग व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट २० मेन्टर (प्रशिक्षक)हरु उपलब्ध गराइनेछ।
मेन्टरहरुमा अनिल चित्रकार, पशुपति मुरारका, ओमराज भण्डारी, सौरभ ज्योति, आशुतोष तिवारी, रन्जित आचार्य, सुमन शाक्य, सिद्धान्तराज पाण्डे, अमित अग्रवाल, विश्वास ढकाल, सुमना श्रेष्ठ, निरज खनाल, आनन्द बगारिया, गगन प्रधान, निरन्जन श्रेष्ठ, दिलिप अग्रवाल, सनम चित्रकार, योगेन्द्र शाक्य, भाष्कर ढुंगाना र संजय गोल्छा रहेने महासंघले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ। मुलुकका सफल २० जना उद्योग व्यवसायीहरुले छनोटमा परेका स्टार्टअप व्यवसायीलाई २० जनाको दरले मेन्टरसिप दिनेछन्।
त्यस्तै उद्योग व्यवसायहरुलाई मेन्टरसिप कार्यक्रमअन्तर्गत लामो व्यवसायी अनुभव बटुलेका मेन्टरहरुमार्फत् करिब ३ महिना परामर्श दिई उद्यम गर्न सक्षम बनाइनेछ।
सफलतापूर्वक मेन्टरिङ पूरा गरेका स्टार्टअप वा उद्योग व्यवसायलाई मात्र लगानी जुटाउनको लागि लगानीकर्तामाझ आफ्नो व्यवसायको प्रस्तुतिका लागि मौका प्रदान गरिनेछ।