काठमाडौं– नेपाल राष्ट्र बैंकले एम एन्ड एम रेमिट कम्पनीको कारोबारमा प्रतिबन्ध लगाएको छ। यस्तै राष्ट्र बैंकले बैंक, वित्तीय संस्था तथा रेमिट कम्पनीहरूलाई एम एन्ड एम रेमिट कम्पनीसँग कारोबार नगर्न निर्देशन दिएको छ।
एम एन्ड एमको कारोबार अपारदर्शी र शंकास्पद रहेको तथा धेरै नेपाली कम्पनीले ठूलो मात्रामा रकम लिन बाँकी रहेको भन्दै राष्ट्र बैंकले आइतबार यस्तो निर्देशन दिएको हो।
नेपाली कम्पनीको सुरक्षाका लागि एम एन्ड एससँगको कारोबारमा रोक लगाइएको राष्ट्र बैंकका अधिकारी बताउँछन्।
कम्पनीको कारोबार शंकास्पद रहेको भन्दै विभिन्न वित्तीय संस्थाले राष्ट्र बैंकसमक्ष गुनासो गरेपछि राष्ट्र बैंकले रोक लगाएको हो।
राष्ट्र बैंकले कम्पनीको कारोबारमाथि निगरानी राख्दै आएको थियो।
एम एन्ड एम रेमिटको शाखा विश्वका विभिन्न देशमा रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ। यसको मुख्य कार्यालय भने पूर्वी अफ्रिकी मुलुक मौरिससमा छ।
फाइनान्सियल सर्भिस कमिसनले विश्वभर रेमिट्यान्स कारोबार गर्न सो रेमिटलाई अनुमति दिएको दाबी गरिएको छ।
नेपाली कम्पनीको रकम हिनामिना नहोस् भनेर कारोबार रोक्का गरिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए।
राष्ट्र बैंकका ती उच्च अधिकारीले सो रेमिटमा विभिन्न नेपाली कम्पनीको करोडौं रुपैयाँ फसिरहेको बताए।
‘कम्पनी पारदर्शी भएर कारोबार गर्ने भन्दै नेपाली कम्पनीसँग जोडिन चाहेमा राष्ट्र बैंकले कारोबार फुकुवासमेत गर्न सक्नेछ’, ती अधिकारीले भने।
राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ अनुसार एम एन्ड एम रेमिटको कारोबार रोक्का गरिएको जानकारी दिए।
उक्त दफामा राष्ट्र बैंकले आवश्यकताअनुसार समयसमयमा निर्देशन दिन, विनियम बनाउन वा आदेश वा सूचना जारी गर्न सक्ने व्यवस्था छ।
नेपालमा कुन कुन कम्पनीसँग छ कारोबार?
एम एन्ड एमले तत्कालीन जनता बैंक रहेको ग्लोबल आइएमई बैंक, सेन्चुरी बैंक, प्राइम बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक, एनआईसी एसिया, इजी लिंक सब मनी ट्रान्सफर, राम्रो रेमिट, संसारा रेमिटलगायतका कम्पनीसँग कारोबार गर्दै आएको छ।
कम्पनीले कतार, साउदी, मलेसिया, दुबई, संयुक्त अरब इमिरेट्समा रहेका शाखाबाट पनि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था र रेमिट कम्पनीसँग कारोबार गर्दै आएको छ।
नेपालीले एम एन्ड एमका एजेन्टमार्फत दुई हजार ७५७ स्थानबाट रेमिट सेवा लिइरहेको कम्पनीको वेबसाइटमा उल्लेख छ।
अब के हुन्छ?
राष्ट्र बैंकको निर्देशनपछि बैंक, वित्तीय संस्था र रेमिट कम्पनीले एम एन्ड एमसँग कारोबार बन्द गर्नेछन्। तर वित्तीय संस्थाले धितोस्वरुप राखेको ‘प्रि–फन्ड’ भने फिर्ता लिन सक्नेछन्। यस्तै कम्पनीसँग कारोबार गर्ने नेपालका कम्पनीले बाँकी रकम लिन पाउने कार्यकारी निर्देशक पौडेलले बताए।
हामीले कारोबार गरेका छैनौं : संसारा
संसारा रेमिटले भने एम एन्ड एम कम्पनीसँग कारोबार नगरेको दाबी गरेको छ। संसारा रेमिटका बजार निर्देशक सुरज क्षेत्रीले एम एन्ड एम कम्पनीसँग आफूहरूले कारोबार नगरेको बताए।
संसारा रेमिट डटकममा भने सो रेमिटले कतार, साउदी अरब र दुबईमा रहेको एम एन्ड एमसँग सम्झौता गरेर नेपालमा रेमिट्यान्स भित्र्याइरहेको उल्लेख छ।