शुक्रबार, असोज ९, २०८३

ललितपुरका दुई विषयगत सहकारी संघबीच एकीकरण हुने

ललितपुरका दुईवटा विषयगत जिल्ला सहकारी संघबीच एकीकरण हुने भएको छ।
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

ललितपुर- ललितपुरका दुईवटा विषयगत जिल्ला सहकारी संघबीच एकीकरण हुने भएको छ।

जिल्ला कृषि सहकारी संघ र जिल्ला च्याउ उत्पादक सहकारी संघले आज ललितपुरमा ‘सहकारी संघ एकीकरण कार्यशाला गोष्ठी’ गर्दै एकीकरण बारे औपचारिक जानकारी दिएका हुन्।

जिल्ला कृषि सहकारी संघ ललितपुरका अध्यक्ष ओमदेवी मल्ल र जिल्ला च्याउ उत्पादक संघ ललितपुरका अध्यक्ष कमलराज दाहालले संयुक्त रूपमा गोष्ठीको अध्यक्षता गरी एकीकरणको सन्देश दिएको जनाए। उक्त गोष्ठी नै एकीकरणका लागि भेलासमेत रहेको दुवै संघका अध्यक्षहरूले बताए।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईसिए ग्लोबल बोर्ड मेम्बर समेत रहेकी जिल्ला कृषि सहकारी संघ ललितपुरका अध्यक्ष ओमदेवी मल्लले मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले संघहरूको व्यवसायिक स्थायित्व एवम् दिगोपनका लागि एकीकरणमा जोड दिएको बताइन्।

मल्लले महासंघ एवम् केन्द्रीय संघहरूमा नेतृत्व गर्ने सहकारी अभियन्ताले नै जिल्ला स्तरीय संघको एकीकरण मार्फत सबलीकरणमा लैजना अग्रसरता देखाउनु पर्ने भएकोले आफूले नै पहिलो मर्जर गर्नका लागि प्रयास थालेको जानकारी दिइन्।

नेपालको भन्दा ठूलो जनसंख्या र भूगोल भएका देशमा नेपालमा भन्दा कम संघहरूले सहकारी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेकोले संघको संख्यामा भन्दा सेवा र स्थायित्वमा जोड दिन मर्जर जरूरी रहेको मल्लको तर्क थियो। 
जिल्ला च्याउ उत्पादक संघ ललितपुरका अध्यक्ष कमलराज दाहालले विषय मिल्ने संघहरू एकीकृत हुँदा सदस्य संस्थालाई स्तरीय सेवा दिन र व्यवसायिकतामा लैजान सहज हुने धारणा राखे।

दाहालले संघहरूलाई एकीकरण गरी सबल बनाउने र सदस्य संस्थालाई दिइने सेवा विस्तारित गरिने जानकारी दिए। कार्यक्रममा दुबै संघलाई शुभकामना दिँदै राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अन्जु) ले संघ एकीकरण कार्यक्रम उदाहरणीय र अनुकरणीय रहेको बताइन्।

जिसीले जिल्ला संघहरू सुदृढिकरण तिर अघि बढ्नुपर्ने सुझाव दिइन्। राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङले संघहरूको सबलीकरणबारे कार्यपत्र समेत प्रस्तुत गरिन्।

उक्त एकीकरण गोष्ठीमा दुबै संघबाट प्रतिनिधि रहने गरी एकीकरण सात सदस्यीय कार्यदल समेत तय गरिएको जानकारी दिइयो।

कार्यदलमा कृषि सहकारीबाट ४ जना र च्याउ उत्पादकबाट ३ जना रहेको जनाइएको छ। कार्यदलको संयोजकमा ओमदेवी मल्ल र सदस्यहरूमा कमलराज दाहाल, पुरुषोत्तम हुमागाईँ, प्रेमप्रसाद घिमिरे, चित्रराज तिमल्सिना। काशीनाथ सापकोटा र आदर्श तिमल्सिना छन्।

प्रकाशित: Mar 20, 2021| 14:31 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्