काठमाडौं- स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ३८ लाख नाघेको छ।
अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७७/०७८को माघ महिनासम्म कुल ३८ लाख २५ हजार ९४६ जनाले प्यान नम्बर लिएका हुन्।
सो अवधिमा व्यवसायिक लेखा नम्बर लिने कारदाताको संख्या १५ लाख १८ हजार ९३३ पुगेको छ। कुल प्यान नम्बर लिनेको संख्याको तुलनामा व्यवसायिक प्यान नम्बर लिनेको संख्या ३९.७ प्रतिशत रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनमा उल्लेख गरिएको छ।
त्यस्तै व्यक्तिगत प्यान नम्बर लिनेको संख्या २२ लाख ९९ हजार ३०९ पुगेको छ। व्यक्ति प्यान लिनेको संख्या ६०.१ प्रतिशत रहेको छ।
त्यस्तै करकट्टी गर्ने नियकाले लिएको प्यान नम्बर संख्या ७ हजार ७०४ अर्थात कुल प्यान नम्बर लिनेको तुलनामा ०.२ प्रतिशत रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
यसअघि गत आर्थिक वर्ष २०७६/०७७ देखि सरकारले २ हजार रुपैयाँभन्दा माथिको कारोबार गर्नका लागि अनिवार्य प्यान नम्बर लिनुपर्ने प्रावधान राखेको थियो।