काठमाडौं‐ विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर अर्थात् ८ अर्ब ७० करोड रुपैयाँबराबरको ऋण सहयोग गर्ने भएको छ।
विश्व बैंकले कोभिड–१९ विरुद्ध प्रभावकारी खोप प्रणाली विकासका लागि सो रकमबराबरको सहुलियत ऋण दिने प्रस्ताव सरकारले शुक्रबार स्वीकृत गरेको हो।
खोपको समान र प्रभावकारी वितरणले मात्र नेपालको जनस्वास्थ्य क्षेत्रका चुनौती सम्बोधन हुने भएकोले विश्व बैंक ऋण सहायताको लागि सहमत भएको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।
विश्व बैंकका नेपाल, श्रीलंका र मालदिभ्सका लागि राष्ट्रिय निर्देशक रहेका फारिस हदाद जर्भोसले नेपाल सरकारले ७२ प्रतिशत जनसंख्यामा खोप पुर्याउने लक्ष्यलाई एक सशक्त साझेदारको रूपमा विश्व बैंकले सघाएको बताएका छन्। यो ऋण सहयोग मूलतः खोप खरिद, आपूर्ति र वितरणका लागि भएको उनले स्पष्ट पारेका छन्।
विश्व बैंकले यसअघि पनि नेपाललाई कोभिड–१९को आपतकालीन सामना गर्नका लागि २ करोड ९० लाख डलर सहुलियत ऋण सहयोग दिएको थियो।