बुटवल– लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुुटवल बजार क्षेत्र यति बेला अस्तव्यस्त छ।
बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारका लागि संरचना हटाउन थालेपछि बजारको सौन्दर्य बिग्रेको छ भने धुलो उड्न थालेपछि स्थानीयले सास्ती पाएका छन्।
सडक सीमामा रहेका घरधनीले अदालतमा मुद्दा दिएका कारण लामो समयसम्म तीन किलोमिटर सडक विस्तार हुन सकेको थिएन।
अदालतले सडक विस्तार गर्न फुकुवा गरेपछि पुस २५ गते व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुुटवल सडकले सडकमा पर्ने घरमा डोजर लगाएर भत्काइदिएको थियो।
सडक विस्तार तीव्र पार्न थालेपछि बुटवलको मुख्य बजार क्षेत्र र राजमामार्गका घर धमाधम भत्काउन थालिएको छ। सडक क्षेत्रमा निर्माण सामग्री राख्दा यात्रुलाई समेत सास्ती भएको छ।
२०७३ चैत १७ मा पहिलो सम्झौता गरी २०७६ असोज १२ गते सम्पन्न गर्नुपर्ने थियो। तर, सडक सीमाभित्र घर भएकाहरुले पटकपटक अदालतमा मद्दा दिएका थिए। उनीहरूले मुआब्जा पाउनुपर्ने माग राख्दै आएका थिए।
दोस्रो पटक थपिएको म्यादमा पनि काम सम्पन्न हुन सकेन। अहिले तेस्रो पटक २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप भएको व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुुटवल सडकले जनाएको छ।
तीन सय १० घर र बाँकी ४७ खाली जग्गा गरी तीन सय ५७ जनाले सडक सीमा मिचेकोमा दुई सय जनाभन्दा बढीले यसअघि नै घर भत्काई सडक खाली गरिदिएका थिए। त्यसैले आयोजना विस्तारमा सरकारले बल प्रयोग गर्नुपरेको छ।
आयोजनाका अनुसार मुआब्जा प्राप्त गरी अहिलेसम्म १८ वटा घर भत्काइएको छ। सात घरले मुआब्जा पाउने निर्णय भएको छ। तर उनीहरूले मुआब्जा पाएका छैनन्। पाँच घरको मुआब्जा निर्णय हुन बाँकी रहेको आयोजनाले जनाएको छ। अहिलेसम्म आयोजनाले ९२ वटा घर भत्काएको छ।
अझै ८५ वटा संरचना भत्काउन बाँकी रहेको आयोजना प्रमुख तथा सडक डिभिजन बुुटवलका प्रमुख जयलाल मरासिनीले बताए।
‘धेरैजसोले सडक सीमामा रहेका संरचना हटाइरहेका छन्। अब सडक विस्तारले गति लिन्छ’, उनले भने।
बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटर सडक निर्माणका लागि ४७ करोड २७ लाखमा ठेक्का सम्झौता भएको थियो।
समयमा निर्माण नसकिँदा यसको लागत पनि बढेको छ। यो सडक सम्पन्न हुँदा ५३ करोड ९१ लाख ५७ हजार रुपैयाँ लागत पुग्ने आयोजनाले जनाएको छ।
८२ फुटको यो सडकको दुवैतर्फ पाँच पाँच मिटरको सर्विस लेनसहितको सडक निर्माण गर्ने गरी द कञ्चनजंगा बिरुवा जेभी काठमाडौंले ठेक्का लिएको हो।
घरधनी मर्कामा
बुटवलको ट्राफिक चोकमा सुशीला शेरचनको घर सडक सीमाका कारण भत्कियो। उनका पतिले वैदेशिक रोजगारीबाट कमाएको पैसाबाट २०५२ सालमा घर किनेका थिए।
२०६० सालदेखि घरमै थकाली भान्सा घर सञ्चालन गर्दै आएकी उनी अहिले बिचल्ली छ। सडक विस्तारका नाममा घर भत्काइदिएपछि घर पुनर्निर्माण गर्न समस्या भएको दुःखेसो पोखिन्।
आयोजना क्षेत्रमा सयौं घरमालिकले सरकारले बेलाबेलामा मापदण्ड परिवर्तन गर्दा आफूहरु मर्कामा परेको गुनासो गरेका छन्।
२४ घण्टे अल्टिमेटम मात्र दिएर घर भत्काइएकाले घर पुनर्निर्माणमै समस्या भएको सुशीला शेरचनले बताइन्।
सरकारको पटकपटकको सडक मापदण्डले नागरिकलाई समस्या पारेको बुझाइ स्थानीयको छ।
व्यवसायीले भने पाल्पा बुटवल सडक खण्ड विस्तार नभएकाले बजारको मात्रै सडक विस्तार आयोजनाप्रति असन्तुष्टि जनाएका छन्। आफूहरुलाई विस्थापित गराउन खोजेको आरोप व्यवसायीको छ।