काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्सचेन्जमा बन्ड जारी गर्ने भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरबराबरको बोन्ड जारी गर्न लागिएको जानकारी दिए।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आर्थिक संवाद कार्यक्रममा उनले भने, ‘बन्ड जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौं।’
उनले सो बन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिए। पाँच वर्ष अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने बैंकको योजना छ।
निफ्रामा रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि छलफल भइरहेको सीईओ खतिवडाले बताए। ठूला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यले निफ्रा स्थापना भएको हो।
निफ्राले बैंक तथा वित्तीय संस्थाका लागि पनि बन्ड जारी गर्ने तयारी गरिरहेको छ। वाणिज्य बैंकहरुले त्यस्तो बन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरेको गणना हुने गरी बन्ड तयार गरिएको छ।
त्यस्तै, इन्स्योरेन्स बन्डका बारेमा पनि बैंकले छलफल अघि बढाएको छ। इन्स्योरेन्स कम्पनीहरुले त्यस्तो बन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ। विशेष गरी जीवन बिमा कम्पनीका लागि इन्स्योरेन्स बन्ड केन्द्रित हुनेछ।