काठमाडौं‐ मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुवाहक बसहरुमा क्युआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ।
मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच सहमति भएर क्युआर कोडबाट भाडा भुक्तानी व्यवस्थाको शुभारम्भ गरिएको हो। कार्यक्रममा मेगा बैंकका प्रमुख सञ्चालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
गागलफेदी यातायात प्राइभेट लिमिटेडका अध्यक्ष मधुसुदन केसी (खड्का)ले क्युआर कोड सुविधाको व्यवस्था गरेकोमा मेगा बैंकलाई विशेष धन्यवाद दिँदै यो भुक्तानी व्यवस्थाको प्रयोगले यातायात सञ्चालक तथा यात्रु दुबैलाई सहज हुने बताए।
गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ।