काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको छ। गत मंसिरमा ५२ डलर प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य निरन्तर बढ्दो क्रममा रहेको हो।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६९.१३ डलर पुगेको छ। यसअघि गत फागुन ५ मा उक्त मूल्य प्रतिब्यारेल ६३.५० डलर थियो। कोरोनाको महामारीका कारण बजार चलायमान नहुँदा कच्चा तेलको मूल्यमा व्यापक गिरावट आएको थियो।
गत वर्ष मंसिरमा ६८ डलर प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य गत वैशाख दोस्रो साता १९.८० डलर प्रतिब्यारेलसम्म झरेको थियो। पछिल्लो सयम फेरि बजार चलायमान हुँदा इन्धनको माग बढ्न थालेसँगै कच्चा तेलको मूल्य बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
१ ब्यारेल बराबर करिब १६० लिटर हुने गरेको छ। युरोप र एसियमा ब्रेन्ट क्रुडको बढी खपत हुने गरेको छ। शुक्रबार ब्रेन्ट क्रुडको मूल्य ६९.१३ डलर पुगेको हो।
त्यस्तै केही अघि यमनको हुथी विद्रोहीले साउदीमा रहेका तेल भण्डारणहरुमा आक्रमण गरेका कारण पनि कच्चा तेलको मूल्य वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण पछिल्लो समय इन्धनको मूल्य बढिरहेको छ। नेपालमा इन्धन आपूर्ति गर्दै आएको नेपाल आयल निगमले पछिल्लो समय गत १७ फागुनमा इन्धनको मूल्य बढाएको थियो।
हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मट्टितलेको मूल्य प्रतिलिटर ९९ रुपैयाँका दरले रहेको छ।
पेट्रोलको मूल्य यसअघि २०७१ मा उक्त मूल्य बराबर पुगेकोमा त्यसयताको उच्च मूल्य कायम गरिएको निगमले जनाएको छ।