काठमाडौं‐ जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास सञ्चालनमा ल्याएको छ। अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित आफ्नो वाणिज्य दूतावास स्थापना गरेको हो।
जाम्बिया सरकारले नेपालका लागि वाणिज्य दूतमा व्यवसायी ई. देशबन्धु बस्नेत (अजित) लाई नियुक्त गरेको छ। बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य समेत हुन्। उनी महासंघको द्विराष्ट्रिय तथा एनआरएन फोरमका सभापति समेत हुन्।
नवनियुक्त वाणिज्यदूत बस्नेतलाई जाम्बियाको भारतस्थित नेपाल हेर्ने राजदूत जुडिथ केके क्याङगोमा कपीजिंगपाङाले विशेष कार्यक्रमबीच काठमाडौंस्थित वाणिज्य दूतावास कार्यालयका लागि झण्डा, लेटरहेड, स्ट्याम्प लगायत कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी छिन् ।
नेपालमा खुलेको जाम्बियाको वाणिज्य दूतावासले द्विपक्षीय सहायता तथा सहयोगमा काम गर्ने भएको छ। नवनियुक्त वाणिज्यदूत बस्नेतले आगामी दिनमा जाम्बिया र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दैै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताए।