बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वालिङका महिलाले खेतको आलु भित्र्याएर मनाए नारी दिवस 

वालिङका महिलाले खेतको आलु भित्र्याएर मनाए नारी दिवस 

वालिङका महिला आफैँले उत्पादन गरेको फसल भित्र्याएर अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन्।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

स्याङ्जा- वालिङका महिला आफैँले उत्पादन गरेको फसल भित्र्याएर अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन्।

वालिङ ८ को समाजसुधार बहुउदेश्यीय आमा समूहका सदस्यले सामूहिक रुपमा उत्पादन गरेको आलु भित्र्याएर दिवस मनाएका हुन्। वालिङको मुख्य बजारका ७० जना महिलाहरुको सक्रियतामा स्थापना भएको समूहले सामूहिक खेतीअन्तर्गत आलु खेती गरेको समूहका अध्यक्ष प्रेमकुमारी रेग्मीले बताइन्। 

दियालो संस्थाले उपलव्ध गराएको आलुको बिउलाई सामूहिक रुपमा लगाइएको र उत्पादन पनि राम्रो भएको संस्थाका सचिव इन्दिरा गैह्रेले बताइन्।

वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी समूहकी अध्यक्षसमेत रहेकी कविता भुसालले भनिन्, ‘सामूहिक रुपमा खेती गर्दा निक्कै आनन्द आएको छ। अब हामी यसलाई निरन्तरता दिन्छौं।’

उत्पादन भएको आलु सदस्यहरुलाई नै बिक्री गरिने र समूहको कोष वृद्धि गरिने अध्यक्ष रेग्मीले स्पष्ट पारिन्। उनले थपिन्, ‘आगामी दिनमा सामूहिक खेतीको लागि अरुको भर पर्नु नपर्ने अवस्थामा पुग्न हामीहरु लागि परेका छौँ।’

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत उक्त समूहले ५ रोपनी जग्गा भाडामा लिएर आलु खेती गरेको हो।

प्रकाशित: Mar 08, 2021| 14:56 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्