विराटनगर– नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड विराटनगरले ४ करोड ६९ लाख नाफा आर्जन गरेको छ। संस्थाको १४ औं वार्षिक साधारणसभाका अवसरमा गत आर्थिक वर्ष २०७६–०७७ मा ४ करोड ६९ लाख ५१ हजार ४ सय ६९ रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ।
सञ्चालक समिति अध्यक्ष भेषप्रसाद धमलाले आ.व. २०७६–७७ को प्रगति प्रतिवेदन पेश गरेका थिए। उनले गत आर्थिक वर्षमा १ लाख ३९ हजार ८५४ घर परिवारमा लघुवित्त सेवा पुर्याई ८५ हजार १५३ ऋणी सदस्यलाई ५ अर्ब ४८ करोड ऋण लगानी गरिएको बताए। संस्थाले २ अर्ब १८ करोड बचत संकलन गरेको छ।
साधारणसभाले शेयरधनीहरुलाई आ.व.२०७६–७७ को वितरण योग्य मुनाफावाट ८ प्रतिशत वोनश शेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि)वितरण गर्ने निर्णय पारित गरेको छ ।
वोनश वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार ५ सय ७४ पुगेको अध्यक्ष धमलाले जानकारी दिए। साधारण सभाबाट संस्थापक शेयरधनीहरु मध्येबाट मणिकुमार अर्ज्याललाई संचालकमा निर्विरोध चयन गरिएको छ। राष्ट्रिय स्तरको यस संस्थाले ३१ जिल्लामा ९२ वटा शाखा उपशाखाहरुमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ।