काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ।
महाशाखा र राष्ट्रिय युवा परिषद्को समन्वयमा विभिन्न कलेजका २०० जना विद्यार्थीहरुलाई ट्राफिक महाशाखामा शिक्षण गरी काठमाडौँका विभिन्न चोक, आकाशेपुल र जेब्रा क्रसिङमा परिचालन गरिएको हो।
महाशाखाले स्वयंसेवकलाई १० दिनसम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ। काठमाडौं उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।
स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदल यात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने एसएसपि भट्टराईले जानकारी दिए।