काठमाडौं– केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड पुगेको जनाएको छ।
अर्थतन्त्र मापनको आधार वर्ष परिवर्तन गर्दै विभागले बिहीबार कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार धनात्मक परिवर्तन भएको जनाएको हो।
नेपालले हरेक १० वर्षमा आधार वर्ष परिवर्तन गर्दै आएको छ। नयाँ आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार १४.७ प्रतिशतले बढेको छ। उत्पादनमा २०.२७ प्रतिशत र उपभोगमा ३५.४२ प्रतिशत वृद्धि भएको छ।
हालसम्म तथ्यांकको गणना गर्न आर्थिक वर्ष २०००/२००१ लाई आधार वर्ष मानिएको थियो।
अर्थतन्त्रमा नयाँ क्षेत्र थपिएको, परिवेश नयाँ भएको भन्दै विभागले अब सन् २०१०/२०११ लाई नयाँ आधार वर्ष निर्धारण गरेको छ। यो नेपालको पाँचौं आधार वर्ष हो।
नयाँ आधार वर्षमा छुटेका क्रियाकलाप समावेश हुने, विश्वव्यापीरुपमा आएको लेखा पद्धति लागू हुने, नयाँ गणना विधि प्रयोग हुने जीडीपी उपक्षेत्रहरूको समेत परिवर्तन आउन सक्ने हुँदा तथ्यांकमा प्रभाव पर्ने विभागले जनाएको छ।
केन्द्रीय तथ्यांक विभागका अनुसार अर्थतन्त्रमा कमाइको ९० प्रतिशत खर्च हुने गरेको छ।