बुधबार, असोज ७, २०८३

मल आपूर्ति : यसवर्षको कोटाबाटै अर्को वर्ष ढुक्क

यस वर्षको बालीलाई मलको चर्को अभाव हुँदा पनि आपूर्ति गर्न नसकेको सरकारले यस वर्षकै कोटामा अर्को वर्ष आपूर्ति सहज हुने दाबी गरेको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– यस वर्षको बालीलाई मलको चर्को अभाव हुँदा पनि आपूर्ति गर्न नसकेको सरकारले यस वर्षकै कोटामा अर्को वर्ष आपूर्ति सहज हुने दाबी गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै मन्त्री पद्माकुमारी अर्यालले अर्को वर्षदेखि मल अभाव नहुने दाबी गरेकी हुन्। ‘मल आपूर्तिमा सफलता पाएका छौं। सबै खुसी छौं,’ उनले भनिन्।

यद्यपि यस वर्ष बर्खामा धानबाली र हिउँदमा गहुँ लगायतका बालीका लागि किसानले सहजै मल नपाएको जगजाहेर छ। कृषिमन्त्री अर्यालका अनुसार यसवर्ष अहिलेसम्म १ लाख ८७ हजार टन मल आपूर्ति गरी वितरण गरिएको छ। १ लाख ७६ हजार टन मल मौज्दात रहेको मन्त्री अर्यालले बताइन्।

‘१ लाख ६२ हजार मेट्रिक टन स्टक छ। २ लाख ७ हजार टन भित्रिने क्रममा छ। भित्रिने क्रममा रहेको मल समेत गरी ३ लाख ६९ हजार टन मल स्टकको रुपमा छ भन्ने अवस्थामा हामी छौं,’ उनले भनिन्। आयातका क्रममा रहेको मल समेत गरी स्टक रहेकै हाराहारीमा गत वर्षभरिमा रासायनिक मल वितरण गरिएको मन्त्री अर्यालको भनाइ थियो।

मन्त्रालयका अनुसार गत वर्ष ३ लाख ९४ हजार ६ सय टन मल वितरण गरिएको थियो। उक्त परिमाणसमेत नेपाली किसानलाई हुने आवश्यक अनुसारको आपूर्ति थिएन। कृषि मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा सबै किसिमका बाली एवं तरकारीका लागि वार्षिक ७ लाख टन रासायनिक मलको आवश्यकता पर्छ। सोअनुसार गत वर्ष पनि किसानले करिब आधामात्रै मल पाएका थिए।

कृषि मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले मुख्य बाली धान, गहुँ, कोदो, मकैका लागि वार्षिक ५ लाख टन मलको आवश्यकता हुने बताए। ‘यस ‘वर्ष मल आपूर्तिमा ढिलाइ भएकै हो। मुख्य बालीलाई ५ लाख टन रासायनिक मल आवश्यक हुने आंकलनसहित अर्थ मन्त्रालयले ११ अर्ब बजेट उपलब्ध गराएको छ,’ उनले भने।

यस वर्ष मल आपूर्ति गर्न गत जेठदेखि तयारी गरेको सरकारले हिउँदे बालीको समय सकिँनै लाग्दासम्म पनि आपूर्ति गर्न सकेन। ठेकेदारको ढिलाइ र विभिन्न प्राविधिक कठिनाइका कारण मल आपूर्तिमा ढिलाइ भएको मन्त्रालयको स्वीकारोक्ति छ।

ठेकेदारले आपूर्तिमा ढिलाइ गरेपछि बंगलादेशबाट सरकारीस्तरबाटै आयात गरिरहेको छ। बंगलादेशबाट मल ल्याउनका लागि गत भदौ दोस्रो साता नै तय गरिए पनि पूर्णरुपमा मल आएको छैन। कुल ५० हजार टन मल ल्याउने तयारी थालिएकोमा पहिलो खेप बिहीबार (आज) नेपाल आइपुग्ने मन्त्रालयको भनाइ छ।

सचिव कार्कीका अनुसार चीनबाट ४ हजार टन मल समेत आयातको क्रममा छ। यसवर्षको बालीलाई समय सकिएपछि बंगलादेश, चीन लगायतका मुलुकबाट आयात भइरहेकै मलले अर्को वर्ष आपूर्ति गरिने मन्त्रालयले जानकारी गराएको हो।

मन्त्री अर्यालले नै जारी गरेको विज्ञप्तिमा यस वर्षको मलबाटै अर्को वर्षलाई पनि आपूर्ति गरिने उल्लेख छ। ‘पछिल्ला ३ वर्षहरुको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार टन मल खपत हुने अनुमान गरिएको छ। जुन यस आर्थिक वर्षकै जम्मा मलबाट पूर्ति हुने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित: Mar 04, 2021| 06:35 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्