बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युतीय भुक्तानीमा राष्ट्र बैंकको जोड, रकमको सीमा दोब्बर बनायो

विद्युतीय भुक्तानीमा राष्ट्र बैंकको जोड, रकमको सीमा दोब्बर बनायो

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बर बनाएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बर बनाएको छ। विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्दै आएको राष्ट्र बैंकले यस्तो कारोबार बढाउन सीमा बढाएको हो। 

राष्ट्र बैंकले हिजो बुधबार निर्देशन जारी गर्दै सर्वसाधारणले मोबाइल बैंकिङबाट दैनिक २ लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट बिल भुक्तानी वा एकाउन्ट ट्रान्सफरमा दैनिक २० लाखसम्म रुपैयाँ कारोबार गर्न सक्ने बताएको छ। यसअघि मोबाइल बैंकिङबाट प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँसम्म मात्र कारोबार गर्न सकिन्थ्यो।

यसैगरी इन्टरनेट बैंकिङबाट प्रतिदिन १० लाखसम्म र बिल भुक्तानीका लागि मासिक ३० लाख तथा एकाउन्ट ट्रान्सफर गर्दा मासिक ५० लाखसम्म कारोबार गर्न सकिने व्यवस्था थियो।

केन्द्रीय बैंकले मासिक कारोबार सीमा हटाएको छ र दैनिक कारोबार सीमालाई दोब्बर बनाएको छ। कोरोना महामारी सुरु भएसँगै राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै विद्युतीय माध्यमबाट हुने कारोबार सीमा वृद्धि गर्दै लगेको छ। केन्द्रीय बैंकले सीमा रकम वृद्धि गरे पनि अनुमति प्राप्त संस्थाले आफ्नो आन्तरिक जोखिमलाई मूल्यांकन गरी आन्तरिक सीमा भने तोक्न सक्नेछन्।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्नका लागि भुक्तानीको सीमा वृद्धि गर्ने घोषणा गरेको थियो। यसैगरी बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५ प्रतिशत रकम विद्युतीय कारोबारको प्रवद्र्धनका लागि खर्च गर्न सक्ने व्यवस्था समेत गरेको छ। 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका साथै भुक्तानी सेवा प्रदायकबाट सेवा लिएर मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, कनेक्ट आइपिएस, वालेट, पिएसओ, एटिएम, आरटिजिएसजस्ता उपकरणमार्फत विद्युतीय कारोबार बढिरहेको छ । बैंकहरुले तरकारी बजार, यातायातका साधनदेखि मन्दिरमा भेटी चढाउन समेत विद्युतीय माध्यम प्रयोग गर्न सकिने गरी प्रवद्र्धन गरिरहेका छन्।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैं आजभोलि क्युआर कोड प्रवर्द्धनका लागि हिँडिरहेका छन्।

प्रकाशित: Mar 04, 2021| 01:26 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्