काठमाडौं- सिभिल बैंकले एटीएम कार्डको प्रयोगबिनै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ।
सिभिल बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप्लिकेसन ‘सिभिल स्मार्ट’ प्रयोग गरेर सिभिल बैंकको कुनै पनि एटीएममार्फत् एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सक्नेछन्।
यस सेवाको प्रयोग गर्न ग्राहकहरुले सिभिल बैंकको मोबाइल बैकिङ एप्लिकेसन ‘सिभिल स्मार्ट’ मा भएको ‘कार्डलेस क्यास’ अप्सनमा गई आफूले इच्छाएको रकम प्रविष्ट गरी सम्पूर्ण विवरणहरु र आफ्नो मोबाइल बैकिङ एप्लिकेसनको पिनकोड हाल्नुपर्ने बैंकले जनाएको छ।
पिन कोड हालेपछि एकपल्ट मात्र प्रयोग गर्न मिल्ने ओ.टी.पी. पासकोड प्राप्त हुनेछ। यस पासकोडसहित अन्य विवरणहरु प्रविष्ट गरेपछि एटीएमबाट पूर्व निर्धारित निश्चित रकम झिक्न सकिनेछ। ग्राहकहरुले यस सुविधाको उपयोग एटिएम कार्ड हराएको अवस्थामा वा अरु कसैलाई रकम भुक्तानी गर्नुपरेको अवस्थामा समेत गर्न सक्ने बैंकले जनाएको छ।
ग्राहकहरुले एटीएम कार्ड बोक्नैपर्ने, एटीएम कार्ड हराउने डर आदि झन्झटहरुबाट मुक्ति पाउने बैंकले दाबी गरेको छ। एटीएम कार्ड हराउँदा/बिर्सिँदा वा कसैलाई नगदै भुक्तानी दिनुपर्नेलगायतका अवस्था तथा समस्याहरुको समाधान ‘सिभिल बैंक कार्डलेस क्यास’ ले दिने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।
बैंकको करिब साढे ५ लाख ग्राहक छन् भने देशभर ११४ शाखा, ६ एक्सटेन्सन काउन्टर तथा ८९ एटिएम छन्।
बैंकले ७८ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ।