काठमाडौं‐ नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा बढाएको छ।
राष्ट्र बैंंकले बुधबार भुक्तानीसम्बन्धी कारोबार गर्ने सम्पूर्ण संस्थाहरुलाई सर्कुलर जारी गरी मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानीको सीमा बढाएको हो।
राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलका अनुसार अब मोबाइल बैंकिङ गर्नेहरुले प्रतिदिन २ लाख रुपैयाँ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट) प्रतिदिन २० लाख रुपैयाँ र इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर) प्रतिदिन २० लाख रुपैयाँसम्म कारोबार गर्न पाउनेछन्।
यसअघि नेपाल मोबाइल बैंकिङको हकमा प्रतिदिन ५० हजार र प्रतिमहिना २ लाखसम्मको कारोबार सीमा तोकिएको थियो। त्यसमा क्युआर कोडको भुक्तानी पनि समावेश गरिएको थियो।
त्यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट) प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख र इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर) प्रतिदिन १० लाख र प्रतिमहिना ५० लाख रुपैयाँसम्मको सीमा निर्धारण गरिएको थियो।
पहिले निर्धारण गरिएको सीमा कम भएको सरोकारवालाहरुले गुनासो गरेपछि राष्ट्र बैंकले सीमा बढाएको हो। पछिल्लो समयमा मोबाइल तथा इन्टरनेट बैंकिङको कारोबार बढ्दै गएपछि सीमा बढाउन लागि राष्ट्र बैकलाई दबाब परेको थियो।
राष्ट्र बैंकका अनुसार कुनै पनि व्यक्तिले आफ्नै एक बैंकको खाताबाट सोही बैंकको अर्को खातामा रकमान्तर गर्न, सरकारी कर, सेवा शुल्क जस्ता रकम भुक्तानी गर्न, विद्युतीय सेवा दुरसञ्चार सेवा जस्ता सेवा शुल्कको रकम भुक्तानी गर्न र धितोपत्रको कारोबारमार्फत् तोकिएको बैंक खातामा रकम भुक्तानी गर्न भने सीमा लाग्दैन।
त्यसैगरी भुक्तानीसम्बन्धी कारोबारको जोखिम मुल्यांकन र व्यवस्थापन गरी आन्तरिक सीमा निर्धारण गर्न भने भुक्तानीमा संलग्न संस्थालाई राष्ट्र बैंकले छुट दिएको छ।