काठमाडौं– अर्थ मन्त्रालयले ११३ स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख २३ हजार रुपैयाँ ससर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत गरेका हुन्।
स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार दुई हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्था निर्माणाधीन छन्।
स्वास्थ्य संस्थाको काम सम्पन्नताका आधारमा वित्तीय हस्तान्तरणका रुपमा रकम पठाउने गरिन्छ।
मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आवमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि चार अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि दुई अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको जानकारी दिए।
मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो।
सोहीअनुसार गत मंसिर १५ गते ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो।