बुधबार, असोज ७, २०८३

राष्ट्र बैंकले ल्यायो क्युआर कोड मापदण्ड

पछिल्लो समय तरकारी तथा फलफूलदेखि साइकलमा तरकारी बेच्ने र मन्दिरको भेटीसम्म क्युआर कोड मार्फत प्रदान गर्ने व्यवस्था हुन थालेको छ।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं‐ क्युआर कोडको प्रयोग बढ्दै गएपछि त्यसलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले ‘क्युआर कोड मापदण्ड २०७७’ जारी गरेको छ। 

विद्युतीय भुक्तानीको मुख्य माध्यमको रुपमा क्युआर कोडको प्रचलन बढ्दै जान थालेपछि सुरक्षित भुक्तानीको लागि मंगलबार केन्द्रीय बैंकले सो मापदण्ड जारी गरेको हो। 

राष्ट्र बैंकले जारी गरेको मापदण्डअनुसार क्युआर कोड बैंक तथा फाइनान्स कम्पनी, भुक्तानी प्रदायक संस्था वा भुक्तानी प्रदायक सञ्चालक संस्थाले मात्र राष्ट्र बैंकको अनुमति लिएर जारी गर्न सक्नेछन्। 

हाल नेपालमा २९ वटा भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालक रहेका छन्। २७ बटा वाणिज्य बैंक, १९ वटा विकास बैंक र २१ वटा वित्तीय संस्था गरी क्युआर कोड सञ्चालनका लागि ९६ वटा संस्थाले नोपल राष्ट्र बैंकबाट अनुमति पाएका छन्। 

जारी गरिएको मापदण्ड अनुसार क्युआर कोड जारी गर्ने संस्थाको पूर्वाधार राम्रो हुनुपर्छ ताकि कुनै पनि समयमा नेटवर्कमा समस्या भएर सेवा प्रवाह ठप्प नहोस्। 

क्युआर कोडको सेवा प्रवाह गर्ने संस्थाले सेवा शुल्क, लेनदेनको रिपोर्ट लगायतका कुराहरु सरोकारवालालाई जानकारी दिनुपर्ने प्रावधान पनि जारी मापदण्डमा छ। 

तरकारी किनमेलमा क्यूआर कोड : प्रयोगकर्ता छैनन्, व्यवसायी आशावादी 

मापदण्डमा क्युआर कोड एक्वायरर र जारी गर्ने संस्थाको जिम्मेवारी के हो, शुल्क, क्युआर कोडको प्रयोग गर्दा हुने सेटलमेन्ट मेकानिजम कस्तो हुने, एक्वायरिङकर्ता वा जारी गर्ने संस्थाको योग्यता र नेटवर्क कस्तो हुनुपर्ने, ग्राहकलाई दिइने सर्भिस उनीहरुको गुनासो, गुनासो निराकरण गर्ने संयन्त्र लगायतका बारेमा पनि स्पष्ट रुपमा उल्लेख गरेको छ। 

त्यस्तै ग्राहक शिक्षा, क्युआर कोडको लोगो, अन्तर आवद्धता र ब्रान्डिङको व्यवस्थाका बारेमा पनि राष्ट्र बैंकले विभिन्न मापदण्ड तोकिदिएको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विभिन्न समयमा वाणिज्य बैंकहरुले आयोजना गरेको क्युआर कोड जारी गर्ने कार्यक्रममा आफैं उपस्थित भएर क्युआर कोडको प्रवर्द्धन गरिरहेका छन्। पछिल्लो समय तरकारी तथा फलफूलदेखि साइकलमा तरकारी बेच्ने र मन्दिरको भेटीसम्म क्युआर कोड मार्फत प्रदान गर्ने व्यवस्था हुन थालेको छ।

क्युआर कोड प्रयोग गरेर सामान खरिद गर्दा सुरक्षित कारोबारमाथि प्रश्न उठ्न थालेपछि बैंकले क्युआर कोड प्रयोगको मापदण्ड नै ल्याएको हो।

प्रकाशित: Mar 02, 2021| 12:36 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्