बुधबार, असोज ७, २०८३

सुनचाँदीको कोटा बढाउन व्यवसायीको माग

बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन्। 
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं‐ बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन्। 

नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भेट गरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सिर्जना भैसकेको भन्दै तत्काल कोटा वृद्धि गर्न माग गरेको हो। 

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समासधान गर्न सचिव भट्टराईसँग आग्रह गरे। उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे। 

अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनले जानकारी दिए। 

आवश्यकताअनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनले स्मरण गराए। पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ। लकडाउनअघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो। 

व्यवसायीसँगको भेटपछि सचिव भट्टराईले कोटा वृद्धि गरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिवद्धता जनाए। उनले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्वन्धित निकायहरुसँग आवयक परामर्श गरी सिघ्र समस्याको समाधान गरिने बताए। 

सचिव भट्टराईले आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा अवैध कारोबार फस्टाउन सक्ने तर्फ पनि सरकार सचेत रहेको उल्लेख गर्दै व्यवसायीका माग शिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाए। 

प्रकाशित: Mar 02, 2021| 12:28 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्