बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निक्षेपको तुलनामा ५२ प्रतिशतले बढ्यो कर्जा, वैशाखसम्ममा ‘क्रेडिट क्रन्च’ हुन सक्ने

निक्षेपको तुलनामा ५२ प्रतिशतले बढ्यो कर्जा, वैशाखसम्ममा ‘क्रेडिट क्रन्च’ हुन सक्ने

पछिल्लो समय निक्षेपको तुलनामा कर्जामा भएको वृद्धिका कारण बजारमा तरलता संकुचन हुन थालेको देखिएको बैंकर्स संघले जनाएको छ।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

पछिल्लो समय निक्षेपको तुलनामा कर्जामा भएको वृद्धिका कारण बजारमा तरलता संकुचन हुन थालेको छ।

काठमाडौं - वाणिज्य बैंकहरूले नाफा कमाउन कर्जा लगानी बढाउँदा  तरलतामा संकुचन आउन थालेको छ। 

नेपाल बैंकर्स संघको विवरणअनुसार वाणिज्य बैंकहरूसँग हाल ३८ खर्ब ९ अर्ब रूपैयाँ निक्षेप छ भने ३३ खर्ब ६२ अर्ब रूपैयाँ कर्जा लगानी छ। 

तर, पछिल्लो समय निक्षेपको तुलनामा कर्जामा भएको वृद्धिका कारण बजारमा तरलता संकुचन हुन थालेको देखिएको बैंकर्स संघले जनाएको छ।

नेपाल बैंकर्स संघका अनुसार फागुनको दुई हप्तामा मात्र निक्षेप जम्मा २३ अर्ब बढ्दा कर्जा ४४ अर्ब रूपैयाँ बढेको छ। यो निक्षेपको तुलनामा ५२.२७ प्रतिशतले बढी हो। 

त्यस्तै गत माघ महिनाको पछिल्लो एक हप्तामा मात्र निक्षेप दुई अर्ब रूपैयाँले बढ्दा कर्जा २९ अर्ब रूपैयाँले बढेको बैंकर्स संघले जनाएको छ। माघ महिनामा मात्र वाणिज्य बैंकहरूको निक्षेप जम्मा पाँच अर्ब रूपैयाँले बढेर ३७ खर्ब ८६ अर्ब रूपैयाँ पुगेको छ भने कर्जा ७४ अर्ब रूपैयाँले बढेर ३३ खर्ब १७ अर्ब रूपैयाँ पुगेको छ। 

चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूको निक्षेप तथा कर्जाको अवस्था।

लकडाउनका कारण करिब ८ महिनासम्म ठप्प भएको व्यापार व्यवसाय  गत मंसिरबाट तंग्रिन थालेपछि कर्जाको माग पनि बढ्न थालेको हो। 

कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन कम भएपछि बैंकहरूसँग लगानीको लागि पुँजी अभाव हुनु स्वभाविक भएको बैंकरहरू बताउँछन्। 

यसै अनुपातमा कर्जा प्रवाह भइरहने हो भने वैशाखसम्ममा क्रेडिट क्रन्च (लगानी योग्य रकमको अभाव) को समस्या आउन सक्ने बैंकरहरूको अनुमान छ। 

बैंकर्स संघले प्रदान गरेको तथ्यांकले पनि बैंकरहरूको भनाइ पुष्टि गर्छ। 

संघका अनुसार गएको मंसिर यता निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा भारी बृद्धि भइरहेको छ। गत मंसिर महिनामा निक्षेप ४५ अर्बले बढदा कर्जा प्रवाह ४९ अर्ब रूपैयाँ बढेको थियो।

त्यस्तै पुस महिनामा ८८ अर्बले निक्षेप बढ्दा १४३ अर्ब रूपैयाँले कर्जा बढेको थियो। 

गत साउन महिनामा भने वाणिज्य बैंकहरूको निक्षेप आठ अर्ब रूपैयाँले घटेर ३४ खर्ब ७९ अर्ब रूपैयाँ पुगेको थियो भने कर्जा २५ अर्ब रूपैयाँले घटेर २८ खर्ब ७८ अर्ब रूपैयाँ पुगेको थियो। 

गत आर्थिक वर्षको अन्त्य अर्थात् गत असारमा निक्षेप ३४ खर्ब ८७ अर्ब थियो भने कर्जा २९ खर्ब तीन अर्ब रूपैयाँ थियो। 

प्रकाशित: Mar 02, 2021| 04:45 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्